• ११ मंसिर २०८१, मङ्गलबार

नेपालको इतिहासमा अमरसिंहको बेग्लै पहिचान छ : मन्त्री राई

blog

राष्ट्रिय विभूति अमरसिंह थापा ।

काठमाडौँ, साउन १६ गते । रक्षामन्त्री मानवीर राईले राष्ट्रिय विभूति अमरसिंह थापाको नेपालको इतिहासमा बेग्लै पहिचान रहेको बताउनुभएको छ । ‘राष्ट्रिय विभूति वीर अमरसिंह थापाको २०८औँ स्मृति दिवसका’ अवसरमा आयोजित कार्यक्रममा उहाँले थापासहित राष्ट्र र राष्ट्रियताका लागि योगदान पुर्‍याउने सबै वीरवीरगङ्गानाप्रति नेपाल सरकारको उत्तिकै सम्मान रहेको स्पष्ट पार्नुभयो । 

मन्त्री राईले भन्नुभयो, “नेपालको एकीकरणमा उहाँले खेल्नुभएको भूमिका निकै महत्त्वपूर्ण छ । राष्ट्रिय विभूति थापाको योगदान जोडिएको इतिहास अझै अपुरो छ । मुलुकको सीमा सुरक्षाका क्रममा आफूलाई केही असजिलोको धक्का महसुस गर्दासमेत ज्यान दिन तयार हुनुहुन्थ्यो ।” उहाँले आज राष्ट्र र राष्ट्रियताको सवालभन्दा व्यक्तिगत इच्छा र चाहानामा समाज हिँडिरहेको अवस्थामा इतिहासमा त्यस्ता योगदान दिने व्यक्तिको खोजी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

कार्यक्रममा इतिहासविद् एवम् उहाँका बारेमा जानकार राजाराम सुवेदी, धनबहादुर कुँवर तथा पूर्वसहायकरथी डा.प्रेमसिंह बस्न्यातले राष्ट्रिय विभूति थापाले नेपालको एकीकरण र राष्ट्रियता प्रवर्द्धनका लागि खेल्नुभएको भूमिकाको चर्चा गर्नुभयो । नेपाल एकीकरणका बेलामा तत्कालीन अङ्ग्रेजसँगको लडाइँमा बडाकाजी थापाले ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ’ भनी दिनुभएको अभिव्यक्ति नेपाली समाजमा निकै चर्चित छ । रासस