• १९ साउन २०८१, शनिबार

पर्यावरण, युद्ध र प्राकृतिक सङ्कटको सामना गर्न साझा प्रतिबद्धता चाहिन्छ : उपेन्द्र यादव

blog

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव आफ्नो धारणा राख्दै ।

फिलिपिन्स साउन १६ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले युद्ध, पर्यावरण र प्राकृतिक विपद् जस्ता विश्वव्यापी सङ्कटको सामना गर्न एसियाली देशहरूबिच साझा नीति र प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ । 

फिलिपिन्सको राजधानी मनिलामा बुधबार ग्लोबल लिडरको प्यानल सत्रमा बोल्दै अध्यक्ष यादवले एसियाली देशहरूको बिचमा साझा कार्यक्रम, नीति र प्रतिबद्धता नभएसम्म विश्वस्तरका सङ्कटहरूको सामना गर्न नसकिने बताउनुभएको हो । 

सम्मेलनको अन्तिम दिन ग्लोबल लिडर प्यानललाई सम्बोधन गर्दै अध्यक्ष यादवले भन्नुभयो, ‘‘सामाजिक न्याय र मानवअधिकार संरक्षणको हकमा विभेदमा पारिएका जनता नै सङ्कटको भुमरीमा परेका हुन्छन् । त्यसका लागि पनि एसियाली देशहरूबिच साझा कार्यक्रम र नीति बन्न जरुरी छ ।’’

अध्यक्ष यादवले प्रोग्रेसिभ एलाइन्सको ग्लोबल कन्फेरेन्समा ‘वर्किङ फर अ न्यु प्रोग्रेसिभ एरा’ विषयक कार्यपत्र प्रस्तुत गरी लिडर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । एसियाली प्रजातान्त्रिक पार्टीहरूको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई २९ तारिखदेखि आयोजित ग्लोबल लिडरको सम्मेलनमा भाग लिन अध्यक्ष यादव गत असार १३ गते मनिला प्रस्थान गर्नुभएको थियो । 

उक्त सम्मेलनमा एसियाको ४१ देशमा प्रतिनिधि नेताहरू सहभागी थिए । जुलाई २९ तारिखदेखि सुरु भएको सो सम्मेलन बुधबार सम्पन्न भएको छ । जनता समाजवादी पार्टी नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटीको सदस्य रहेको छ ।