• २ माघ २०८१, बुधबार

प्राध्यापक धर्मराज विष्टको हत्या आरोपित १७ वर्षपछि पक्राउ

blog

काठमाडौँ, साउन १६ गते । नेपाल प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा १७ वर्षपछि एक व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

मंगलबार नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३९ वर्षीय रञ्जन खड्कालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ परेका खड्का काठमाडौँ ३२ का बासिन्दा  भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिनुभयो । 

खड्कालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडीबाट साउन १५ गते पक्राउ गरिएको हो । सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि सविता थापा र विनोद थापालाई पक्राउ गरेर कारबाही अघि बढाएको थियो । खड्का र जिल्ला भक्तपुर मध्यपुर ठिमी लोकन्थली बस्ने राजीव पाण्डे सहितको समूहले रड र इट्टा समेत प्रहार गरी घाइते बनाएर बेहोस अवस्थामा छोडी फरार रहेकोमा निजको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो । 


त्यसैगरी प्रहरी बैङ्क तथा वालेटको कर्मचारी हुँ भन्दै अनलाइनमार्फत ठगी गर्ने दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट माधवनारायण नगरपालिका वडा नम्बर २ घर भएर हाल काठमाडौँको कोटेश्वर बस्ने २१ वर्षीय शुभम् साह र रौतहटको गौर नगरपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने २३ वर्षीय सत्यमकुमार सहनी छन् । 

उनीहरूले फेसबुक, ह्वाट्सएप, इमो, भाइबर जस्ता एपहरूको प्रयोगमार्फत ईसेवा वालेट लगायत विभिन्न व्यक्तिको नाममा रहेका बैङ्क खातामा समेत रकम ट्रान्सफर गरी अनलाइनमार्फत ठगीमा गरेको उजुरी काठमाडौँ प्रहरीमा परेको थियो ।