• १० मंसिर २०८१, सोमबार

मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण बढ्दो

blog

सन्तोष सुवेदी

कास्की, साउन १६ गते । वर्षायामसँगै डेंगुको सङ्क्रमण बढ्न थालेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु सङ्क्रमणको ‘पीक सिजन’ साउनदेखि कात्तिकसम्म रहने चिकित्सिकहरु बताउँछन् । तर यो वर्ष मनसुन भएसँगै डेंगुका सङ्क्रमितहरु देखिन थालेका छन् ।  

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका तथ्याङ्क अधिकृत ऋषिराम पौडेलले डेंगुको सङ्क्रमण सुरु भइसकेको बताउनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशमा जनवरीदेखि जुलाई सम्मको तथ्याङ्कमा ५ सय ३८ जनामा डेंगु देखिएको छ । 

यो तथ्याङ्क अनुसार प्रदेशभर सबैभन्दा बढी कास्कीमा २१८ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ भने म्याग्दीमा ५३, लमजुलङमा ६४, तनहुँमा २९, नवलपुरमा १४, गोर्खामा ७०, स्याङ्जामा २२, पर्वतमा २५, बागलुङमा १० जनामा सङ्क्रमण देखिएको छ । पौडेलले गतवर्ष डेंगुबाट ७ जनाको मृत्यु भएपनि यो वर्ष  सङ्क्रमणबाट मृत्यु नभएको जानकारी दिनुभयो। उहाँले वर्षायाम सुरु भएसँगै कास्की, तनहूँ, गोरखाबाट बढी डेंगुको सङ्क्रमण देखिएको बताउनुभयो । 

नेपालमा सन् २००४ मा पहिलो पटक डेंगु पुष्टि भएको थियो । २०१९ मा डेंगुका सबैभन्दा धेरै केस पुष्टि भएपछि यसले प्रकोपको रुपमा लिइएको थियो । उक्त वर्ष गण्डकी प्रदेशमा पनि डेंगुको प्रकोट उच्च रहेको गण्डकी प्रदेशको स्वास्थ्य आपत्तकालिन कार्यसञ्चालन केन्द्रका संयोजक डा. रमेश केसीले बताउनुभयो । ‘‘त्यसबेला कास्कीमा बढी सङ्ख्यामा डेंगुका बिरामी फेला परेका थिए । डेंगु फैलिँदा यहाँ व्यापक रुपमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाइएको थियो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रण गर्न लामखुट्टे मार्ने अभियान नै चलाइएको थियो,’’ उहाँले भन्नुभयो । 

उहाँले त्यसबेला घरघरमा पुगेर त्यो बेला नियन्त्रण गरिएको बताउनुभयो । वर्षाको सिजन अझै बाँकी भएकोले हेलचेक्रयाँइ गर्न नहुने उहाँको भनाइ छ । केसीले तीन वर्षअघि पोखरा क्षेत्रमा डेंगु फैलिँदा नियन्त्रणका लागि घरघरमा पुगेर सङ्कलित पानी फ्याँक्ने, नाला सफा गर्ने, गमला फुटाउने, टायर खालि गर्ने लगायतका काम गर्दा अहिले नियन्त्रणमा सहज भएको सुनाउनुभयो । 

डेंगुको सुरुवाती लक्षण ज्वरो भएकोले डाक्टरको सल्लाह बमोजिम औषधी नखान उहाँले आग्रह गर्नुभयो । उहाँका अनुसार डेंगु लागेपछि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ । त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अङ्गबाट रगत बग्ने सम्भावना हुन्छ ।

‘‘यसलाई सामान्य रुपमा लिनुहुँदैन । ज्वरो आयो भन्दैमा बुफ्रीन खाने बानी छ । त्यसो गर्नुहुँदैन । डाक्टरको सल्लाह लिएर औषधी खाने बानी बसालौं,’’ उहाँले सुझाव दिनुभयो । डेंगु टेस्टको लागि प्रदेशभरका जिल्लाहरुमा किट उपलब्ध भइसकेको उहाँले बताउनुभयो । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु एक प्रकारको भाइरस भएकोले फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी सचेत रहन उहाँले आग्रह गर्नुभयो । 

चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगु सर्छ । यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ । यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ । त्यस्तै यो लामखुट्टे फैलिनका लागि ह्युमिडिटी (सापेक्षित आर्द्रता) ६० प्रतिशत आवश्यक पर्छ । ६० प्रतिशत ह्युमिडिटी भनेको वायुमण्डलमा हुने पानीको मात्रा बुझिन्छ । ६० प्रतिशत ह्युमिडिटीले यो लामखुट्टे फैलाउन सघाउने चिकित्सकले बताउने गरेका छन् ।