• १२ मंसिर २०८१, बुधबार

बेनी जोगाउने नौ वटा संरक्षण आयोजना सम्पन्न

blog

बेनीलाई संरक्षण गर्न कालिगण्डकी नदीमा निर्माण गरिएको काउन्टर फोर्ट पर्खाल र बेनी बजार । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, साउन १६ गते ।
कालिगण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा रहेको सदरमुकाम  बेनी बजार र वरपरका बस्ती संरक्षण गर्न सञ्चालित नौ वटा ठुला संरक्षण योजना सम्पन्न भएका छन् । दुई वर्ष अघिदेखि जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतको रुपताल संरक्षण परियोजना पोखराले बेनी बजार संरक्षण आयोजना सञ्चालन गरेको थियो । 

परियोजनाले कालिगण्डकी, म्याग्दी र रघुगंगा नदीको कटानका कारण उच्च जोखिममा परेको बेनी बजार, गलेश्वर, राममन्दिर, बगरफाँट, पर्वत बेनी र मंगलाघाट बजार संरक्षणका लागि नदी किनारमा पक्की तटबन्ध निर्माण गरेपछि बजारवासीहरुले सुरक्षित महसुस गर्न थालेका छन् । 

‘‘बेनी नगरपालिका ७ को जेसिज भवनदेखि म्याग्दी उद्योग वाणिज्य संघको भवनसम्म कालिण्डकी नदी कटानका कारण बजार नै जोखिममा परेको थियो ।’’ बेनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले भन्नुभयो, ‘‘रुपताल संरक्षण परियोजनाले कटानको उच्च जोखिम क्षेत्रमा पक्की पर्खाल निर्माण गरेपछि बेनी बजार सुरक्षित भएको महसुस भएको छ ।’’ 


दुई वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्यसहित सञ्चालित ४८ करोड रुपियाँ लागतका नौ वटा  योजनाहरु डेढ वर्षको अवधिमा सम्पन्न भएका छन् । परियोजनाका तर्फबाट प्रभावकारी अनुगमन, निर्देशन र ताकेताका कारण योजना सम्पन्न गर्ने मितिभन्दा ६ देखि दश महिना अगाडि सम्पन्न भएको परियोजना पोखराका इन्जिनियर कृष्णबहादुर विकले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘परियोजनाका तर्फबाट बेनी संरक्षणका लागि म्याग्दी, कालिगण्डकी र रघुगंगा नदीमा पक्की पर्खाल निर्माण गर्ने नौ वटा ठुला योजनाहरु सम्पन्न गरेका छौं । नदी कटानको उच्च जोखिम भएका स्थानहरुमा पक्की पर्खाल बनाउनुपर्ने भएकाले सबै योजनाहरु वर्षातको समय अगावै सम्पन्न भएका छन् ।’’

बेनी नगरपालिका ७ स्थित जेसिज भवनदेखि म्याग्दी उद्योग वाणिज्य संघको भवनसम्म कालिगण्डकी नदी कटानको उच्च जोखिम क्षेत्रमा एक सय ६४ मिटर लम्बाइ भएको काउन्टर फोर्ट पर्खाल (नयाँ प्रविधिको हेभी पर्खाल) निर्माण गरिएको उहाँले बताउनुभयो । 

यो क्षेत्रमा कालिगण्डकीको बहाब केन्द्रित भएको र बजार क्षेत्र कटानको अति नै उच्च जोखिम देखिएकाले यो प्रविधिको पर्खाल निर्माण गरेका हौं इन्जिनियर विकले भन्नुभयो, ‘‘यो प्रविधिको पर्खाल धेरै महङ्गो पर्दछ । ३२, १६ र १२ एमएमको गोलाइ भएका रडहरु प्रयोग गरेर बलियो कङ्क्रिट पर्खाल निर्माण गरेकाले बेनीलाई सुरक्षित बनाउने विश्वास छ ।’’


उहाँका अनुसार नदी किनारमा १४ मिटर फराकिलो जग ढलान गरी दुई मिटर माथिबाट ५० सेन्टिमिटर बाक्लो र आठ मिटर अग्लो आरसिसी पर्खाल निर्माण गरिएको छ । परियोजनाले योजना सम्पन्न गर्न नौ करोड ५६ लाख रपियाँमा रौताहट–बीएनबी कन्ट्रक्शन जेभीको सहायक निर्माण कम्पनी माउन्ट धवलागिरि कन्ट्रक्सन सँग ठेक्का सम्झौता गरेको थियो ।

यसैगरी, कालीगण्डकी र रघुगंगा नदी कटानको उच्च जोखिममा परेको धार्मिक स्थल राममन्दिरको संरक्षण गर्न कालिगण्डकी नदी किनारमा चार करोड ३२ लाख ७९ हजार रुपियाँ लागतमा एकसय ३८ मिटर दूरीको कम्पोजिट पर्खाल निर्माण भएको छ ।

म्याग्दी नदीको कटानबाट जोखिममा परेका सरकारी कार्यालय र बेनी नगरपालिका–७ को मंगलाघाट बजार संरक्षणका लागि दुई प्याकेजमा गरेर करिब दश करोड रुपियाँको लागतमा  दुईसय ६२ मिटर कम्पोजिट पर्खाल निर्माण गरिएको परियोजनाले जनाएको छ ।

कालिगण्डकी नदी कटानको उच्च जोखिममा परेको पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ स्थित पर्वत बेनी बजार संरक्षणका लागि तीन करोड पचासलाख रुपियाँ लागतमा पर्खाल निर्माण गरिएको छ । 

योजना अन्तर्गत आमा समुहको भवन देखि म्याग्दी र कालिगण्डकीको दोभान सम्म ८४ मिटर कम्पोजिट पर्खाल निर्माण गरिएको परियोजना पोखराका इन्जिनियर विकले जानकारी दिनुभयो ।

पर्वतको जलजला गाउँपालिका २ र ३ नम्बर बगरफाँट बस्ती संरक्षणका लागि कालिगण्डकी नदी किनारमा तीन करोड २० लाख रुपियाँ लागतमा ९० मिटर लामो कम्पोजिट पर्खाल निर्माण गरिएको छ । यसैगरी, बेनी नगरपालिका २ भसभसेस्थित म्याग्दी र कालिगण्डकीको दोभानमा ७५ मिटर लम्बाई भएको दुई करोड ३० लाख रपियाँ लागतमा बनेको कम्पोजिट पर्खाल गत वर्ष नै सम्पन्न भएको थियो ।


गलेश्वर क्षेत्रलाई कटानबाट संरक्षण गर्न रघुगंगा नदी किनारमा दुई करोड ६८ लाख ३८ हजार रुपियाँ लागतमा ९० मिटर कम्पोजिट पर्खाल निर्माण गरिएको परियोजना कार्यालय पोखराले जनाएको छ । 

रुपताल संरक्षण परियोजनाले सञ्चालन गरेका योजनाहरु सम्पन्न भएपनि अझै केही स्थानहरुमा पक्की पर्खाल लगाउन बाँकी रहेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । बेनी २ को भसभसेमा पक्की पर्खाललाई विस्तार गर्नुपर्ने र बेलिब्रिज पुलदेखि खुल्ला मञ्चसम्म म्याग्दी नदी किनारमा पक्की पर्खालको आवश्यक रहेकाले सम्बन्धित निकायमा बजेट माग गरिएको नगर प्रमुख केसीले बताउनुभयो ।