अमृतप्रसाद पौडेल
म्याग्दी, साउन १६ गते । हिमाली जिल्ला म्याग्दीमा जिल्ला फुटबल संघ म्याग्दी तथा अन्य क्बलहरुको आयोजनामा भदौ र असोज महिनामा गरी चारवटा फुटबल प्रतियोगिता हुने भएका छन् । दुई वटा छात्रा फुटबल प्रतियोगिता र तीन वटा पुरुष फुटबल प्रतियोगिता म्याग्दीमा आयोजना हुने भएका छन् ।
म्याग्दी सदरमुकाम बेनीमा रहेको न्यू दोभान युथ क्लवले तेस्रो न्यू दोभान कप खुल्ला अन्तर विद्यालय स्तरीय छात्रा ‘९–ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरेको छ । देशै भरीबाट माध्यमिक तहसम्म अध्ययन गर्ने छात्राहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउने क्लबका अध्यक्ष उपेन्द्र गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा सहभागिताका लागि माध्यमिक तह अध्ययन गर्ने छात्राहरुले विद्यालयको आधिकारीक पत्र सहित आउनु पर्नेछ ।
२०८१ भदौ ८ देखि १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेले ४५ हजार रुपियाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दोश्रो हुनेले २५ हजार रुपियाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबले जनाएको छ ।
त्यसैगरी द मन–सुन युवा क्लब बेनी नगरपालिका चुत्रेनीले आठौं मनसुन कप ९–एसाइड फुटबल प्रतियोगिता यही भदौ १९–२२ गते सम्म आयोजना गर्दै छ । क्लबले दिएको जानकारी अनुसार खुल्ला फुटबल प्रतियोगितामा पहिलो हुनेले ८० हजार रुपियाँ र दोश्रो हुनेले ४० हजार रुपियाँ नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तीजको अवसरमा हुने उक्त प्रतियोगितामा स्लो डान्स, ग्रुप डान्स, घैटो फोड तथा तिज गीत समेत आयोजना गरिने भएको छ ।
फुटबलको विकास नवप्रतिभाको पहिचान, हाम्रो अभियान भन्ने नारासहित जिल्ला फुटबल संघ म्याग्दीको आयोजनामा प्रथम म्याग्दी कप फुटबल–२०८१ म्याग्दी जिल्ला स्तरीय पुरुष तथा अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला फुटबल संघ म्याग्दीकाा अध्यक्ष कुमार बानियाँका अनुसार यही भदौ ३१ देखि असोज ५ गतेसम्म हुने पुरुष फुटबलमा जिल्ला भित्रका टिमहरुले मात्रै सहभागिता जनाउन पाउने छन् । पुरुष फुटबलमा दुई जना जिल्ला बाहिरका खेलाडी सहभागी गराउन पाइने छ । छात्रा फुटबलमा भने जिल्ला भित्रका माध्यमिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने छात्राहरुले मात्रै सहभागिता जनाउन पाउने छन् । पुरुष फुटबलमा पहिलो हुनेले ७० हजार रुपियाँ र दोस्रो हुनेले ४० हजार रुपियाँ नगद तथा छात्रा फुटबलमा पहिलो हुनेले ३० हजार र दोस्रो हुनेले १७ हजार रुपियाँ नगदसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसैगरी, रिभरसाइड बगरफाँट युवा क्लबले दोस्रो रिभरसाइड ७–ए साइड फुटबल प्रतियोगिता आउँदो असोज १७ देखि २० गतेसम्म आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष सुनिल थापाले दिएको जानकारी अनुसार ७–ए साइड प्रतियोगितामा जिल्लामै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता खुल्ला रुपमा सञ्चालन हुने छ । फुटबल प्रतियोगितामा पहिलो हुनेले एक लाख एक हजार १० रुपियाँ र दोस्रो हुनेले ५० हजार पाँच सय पाँच रुपियाँ नगदसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको प्रत्येक खेलमा विजयी टिमले नगद एक हजार पाँच सय प्राप्त गर्ने र सेमीफाइनलबाट बाहिरीने टिमले नगद चार हजार रुपियाँ पुरस्कार पाउने अध्यक्ष थापाले जानकारी दिनुभयो ।