• १२ मंसिर २०८१, बुधबार

विद्युत् अवरोधले अन्धकार

blog

गुणबहादुर रोका 

सुलीकोट, साउन १६ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६, चुम्चेतमा विद्युत् अवरोध हुँदा २५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्नु परेको छ । शनिबारदेखि परेको अविरल वर्षाका कारण चुमनुब्री गाउँपालिकास्थित चुम्लिङ चुम्चेत लघुजलविद्युत् आयोजना बाढीले बगाएपछि चुम्चेतका स्थानीय अन्धकारमा बस्नु परेको हो । 

अविरल वर्षाले शनिबार ७५ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजनमा क्षति पु¥याएको वडा अध्यक्ष सरोज लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चुम्चेत गाउँनजिकैको चमारी हिमालबाट झरेको खोलामा एक्कासि बाढी आएर लघुजलविद्युत्को ड्याम, जमिन, कुलो, पाइप र बाँध नै बगाएको छ ।” २०७९ सालमा कादुरी नामक संस्थाले उक्त आयोजना निर्माण गरेको थियो । त्यस आयोजनाबाट वडा नम्बर ६, चुम्चेतका करिब २५० घरधुरीले बिजुली बाल्दै आएको वडाध्यक्ष लामाको भनाइ छ । चार दिनदेखि बन्द भएको विद्युत् खुलाउन सकिन्छ कि भनेर गाउँपालिकाको विपत् व्यवस्थापनको बजेटबाट तत्काल मर्मत गर्न सकिन्छ भनेर प्राविधिक टोली गएको थियो । बनाउन सक्ने कुनै सम्भावना नदेखिएपछि कादुरी नै उक्त ठाउँमा आएपछि मात्र मर्मतको काम सुरु हुने उहाँले बताउनुभयो । विद्युत् सेवा अवरुद्ध हुँदा विभिन्न समस्या भोग्नु परेको स्थानीयले गुनासो गरेका छन् ।