• १२ मंसिर २०८१, बुधबार

गाईपालनमा बढ्यो आकर्षण

blog

वालिङ नगरपालिका–८ का कृषक सीतादेवी भण्डारीले अनुदानमा पाएका गाई । तस्बिर : राधाकृष्ण डुम्रे

वालिङ समाचारदाता

वालिङ, साउन १६ गते । स्याङ्जाको वालिङ नगरपालिकाका कृषक व्यावसायिक गाईपालनतर्फ आकर्षित भएका छन् । गाई खरिदमा अनुदान दिएको पालिकाले उत्पादनमा आधारित नगद अनुदानसमेत दिँदै आएको छ । नगरपालिकाले दुधमा आत्मनिर्भर बनाउन गाई खरिदमा अनुदान दिएको जनाएको छ । ‘वालिङ नगरपालिका दुधमा आत्मनिर्भर एवं अनुदान कार्यान्वयन कार्यविधि, २०८०’ लाई पालिकाले कार्यान्वयन गर्दै ३९ वटा गाई खरिदमा १९ लाख ३० हजार रुपियाँ अनुदान दिएको हो ।

वालिङ नगरपालिका पशु सेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले गाईभैँसीपालनको माध्यमबाट रोजगारी सिर्जना गरी वालिङ नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउने उद्देश्यसहित गाईभैँसी खरिदमा ५० प्रतिशत वा अधिकतम ५० हजार रुपियाँसम्म अनुदान दिइएको बताउनुभयो । नगरपालिकाले चालु आवका लागि दुधमा आत्मनिर्भर कार्यक्रम अन्तर्गत गाई खरिद गर्न ४० लाख बजेट विनियोजन गरेको थियो । 

पालिकाको अधिकतम ५० हजार अनुदान र बाँकी किसानको लागत साझेदारीमा गाई खरिद गरिएको हो । दुधमा आत्मनिर्भर कार्यक्रम अन्तर्गत चालु आवमा ३९ वटा उन्नत (जर्सी, होलिस्टिन) गाई खरिद गरिएको हो । समूह सहकारीमा आबद्ध भएका १६ जना किसानले गाई खरिदमा अनुदान पाएका हुन् । दुधमा आत्मनिर्भर अभियान अन्तर्गत अनुदान दिइएको वालिङ नगर उपप्रमुख कविता तिवारीले जानकारी दिनुभयो । अनुदानले कृषक उत्साही भएको उहाँको भनाइ छ । अनुदानमा दुधालु गाई पाएपछि उत्साह थपिएको गाईपालक टीकाराम रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाई खरिदमा अनुदान पाइएको छ भने दुध उत्पादनमा आधारित रहेर नगद अनुदान पाइएको छ ।” वालिङ नगरपालिका दैनिक एक हजार पाँच सय लिटर दुध उत्पादन गरी बिक्रीबाट दैनिक एक लाख १२ हजार रुपियाँ आम्दानी गर्ने अपेक्षा गरिएको उपप्रमुख तिवारीले बताउनुभयो । पालिकाले गएको आवदेखि प्रतिलिटर १० रुपियाँ अनुदान दिँदै आएको छ ।