• ११ मंसिर २०८१, मङ्गलबार

पहिरोका कारण घरखेतमा क्षति

blog

बैतडी समाचारदाता  

बैतडी, साउन १६ गते । सिगास गाउँपालिकाको केन्द्र जोड्ने सिन्याखेत–गर्जे सडक खण्डमा पहिरो खस्दा सिगास–३, को भुडेश्वर गाउँका आठ जना परिवारको घर खेतमा क्षति पुगेको छ । 

स्थानीयवासीले भने भागेर ज्यान जोगाएका छन् । आइतबार राति परेको अविरल वर्षासँगै सडकमाथिबाट पहिरो खस्दा स्थानीय जस्विर साउद, गणेश साउद, गङ्गाराम साउद, रामसिंह धामी, बाद धामी, मनवीर साउद, गोपाल साउद, हरि साउदको परिवार विस्थापित भएका छन् । 

पहिरोले घर र खेतमा क्षति पु¥याएको जस्विर साउदले बताउनुभयो । सिगास गाउँपालिका–३, कोटेलीस्थित सिगास माविको छेउबाट पहिरो खस्दा विद्यालयसमेत पहिरोको जोखिममा परेको छ । 

बस्तीमाथि सडक निर्माण गर्दा स्थानीय १३ घरपरिवार पहिरोको जोखिममा परेको बताइएको छ । गएको जेठमा ठेकेदारले जथाभाबी सडक निर्माण गर्दा बस्तीमा पहिरो खसेको आरोप स्थानीयवासीको छ । राति खाना खाएर आराम गर्न बसेका बेला एक्कासि पहिरो खस्दा भागेर ज्यान जोगाउन सफल भएको जस्विर सिंहले बताउनुभयो । पहिरो खसेको खबर गाँजरीस्थित  प्रहरी चौकीलाई गरिएको थियो । 

उक्त घटनाका सम्बन्धमा थप विवरण बुझ्न गाउँपालिकाको टोली घटनास्थलतर्फ पठाइएको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । पहिरोको क्षतिबारे विस्तृत विवरण बुझेर विस्थापितलाई सुरक्षित स्थानतर्फ सार्न समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताउनुभयो ।