• १५ साउन २०८१, मङ्गलबार

करदाता सेवा कार्यालय खोटाङले उठायो २२ करोड ३१ लाख राजस्व

blog

खोटाङ, साउन १५ गते । करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०८०/८१ मा २२ लाख ५० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क कर र अन्य सेवाबापत रु २२ करोड ६१ लाख ९८ हजार राजस्व सङ्कलन गरिएको निमित्त कार्यालय प्रमुख नेत्रप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । कार्यालयले गत आवमा समग्रमा ९७ दशमलव ४४ प्रतिशत लक्ष्य पूरा गरेको छ । 

“कार्यालयले अघिल्लो आव २०७९/८० मा २१ करोड ३८ लाख २७ हजार राजस्व सङ्कलन गरेको थियो । गत वर्ष २२ करोड ६१ लाख ९८ हजार राजस्व सङ्कलन भएको छ”, निमित्त कार्यालय प्रमुख बाँस्तोलाले भन्नुभयो, “यो ९७ दशमलव ४४ प्रतिशत लक्ष्य हो । आगामी दिनमा शतप्रतिशत लक्ष्य पूरा गर्नेगरी काम गछौँ ।” वि.सं.२०७५ मा स्थापना भएको यस कार्यालयले जिल्लाका विभिन्न ठाउँमा कर शिक्षा तथा कर शिविर सञ्चालन, बजार अनुगमन, जिल्लास्थित लेखासम्बन्धी काम गर्ने कर्मचारीसँग कर शिक्षासम्बन्धी अन्तरक्रियालगायत क्रियाकलाप गर्दै आएको छ । 

आन्तरिक राजस्व कार्यालय लहानको सम्पर्क कार्यालयको रूपमा स्थापित यस कार्यालयले प्रशासन, घरेलु तथा स्थानीय तहमा दर्ता भएका तर करमा दर्ता नभएका सङ्घ-संस्था, व्यापार-व्यवसाय लगायतको विवरण सङ्कलन गरेर करको दायरामा ल्याएको जनाइएको छ । गत आवमा एक सय १५ वटा पसल अनुगमन गर्दा मापदण्ड विपरीत सञ्चालनमा रहेकाहरूलाई कारबाही गरी दुई लाख ४२ हजार राजस्व सङ्कलन गरेको थियो । 

सेवा कार्यालय स्थापना हुनुअघि यहाँका नागरिकले कर चुक्ताका लागि मधेस प्रदेश, सिराहाको लहान पुग्नुपर्ने समस्या थियो । यहाँबाट स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क इजाजत तथा नवीकरण, कर सङ्कलन, करदाताको विवरण संशोधनलगायत सेवा प्रवाह हुने गरेको छ । रासस