• १५ साउन २०८१, मङ्गलबार

सामुदायिक विद्यालयमा स्मार्ट टिभी जडान

blog

नगरप्रमुमख भिमलाल अधिकारीले सामुदायिक विद्यालयमा स्मार्ट टिभी हस्तान्तरण गर्दै ।

मीना कंडेल

कावासोती, साउन १५ गते । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका सामुदायिक विद्यालयमा स्मार्ट टिभी जडान गरिएको छ । सामुदायिक विद्यालयका विद्यार्थीलाई सूचना प्रविधिमैत्री ढङ्गले पठनपाठनका लागि पहिलो प्राथमिकतामा राखेर नगरभित्रका ११ वटा सामुदायिक विद्यालयलाई स्मार्ट टिभी जडान गरिएको हो ।

मध्यविन्दु नगरप्रमुख भिमलाल अधिकारीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सूचना प्रविधि सामग्री हस्तान्तरण गरिएको बताउनुभयो । विद्यालयमा इलेकट्रोनिक्स डिभाइसबाट पठन–पाठन गराउने उद्देश्यले आफूहरूले पहिलो चरणमा ११ सामुदायिक विद्यालयलाई स्मार्ट टिभी हस्तान्तरण गरेको बताउनुभयो ।  

इलेकट्रोनिक्स डिभाइसबाट पढाउँदा विद्यार्थीको पढाइ प्रभावकारी हुने नगरप्रमुख अधिकारीले विश्वास सुनाउनुभयो । कक्षा कोठामा स्मार्ट टिभी र स्मार्ट मोबाइलबाट विद्यार्थीलाई अध्यापन गराउँदा मनोरञ्जनात्मक र रमणीय तरिकाले पठनपाठन गराउन सकिने साथै विश्वमा के भइरहेको छ भन्नेबारे जानकारी हुने उहाँले बताउनुभयो ।

मध्यविन्दु नगरपालिका शिक्षा युवा तथा खेलकुद विकास प्रमुख पदमराज अर्यालले विद्यार्थीको सिकाइ उपलब्धि हासिल गर्न मुख्यमन्त्री नवप्रवर्धन कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयलाई स्मार्ट टिभी वितरण गरिएको बताउनुभयो । 

नगरपालिका भित्रका नवज्योति आधारभूत विद्यालय पतवारी, शान्ति आधारभूत विद्यालय सेतापानी, कुमारवर्ती माध्यमिक विद्यालय कोल्लुवा, जनता माध्यमिक विद्यालय इटैरा, जनतासिद्ध अमर माध्यमिक विद्यालय लुसलहरी, बिन्देश्वरी आधारभूत विद्यालय बाघखोर, जनता आधारभूत विद्यालय क्षेत्री टाढी, वीरेन्द्र माध्यमिक विद्यालय, सरस्वती आधारभूत विद्यालय लगायतलाई वितरण गरिएको मध्यविन्दु नगरपालिका शिक्षा अधिकृत कृष्णप्रसाद रेग्मीले बताउनुभयो ।