• १५ साउन २०८१, मङ्गलबार

सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘टेक एक्स, २०२४’ सुरु

blog

काठमाडौँ, साउन १५ गते । आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरूको प्रदर्शनी ‘टेक एक्स २०२४’ सुरु भएको छ । डिल्लीबजारस्थित सफ्टवेरिका कलेज परिसरमा आयोजित मेलामा सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेका उत्पादन प्रदर्शन गरिएको कलेजका निर्देशक अमृत थापाले जानकारी दिनुभयो । 

“प्रदर्शनी सूचना प्रविधिमा रुचि राख्ने र अध्ययन गर्न चाहनेलाई लक्षित गरिएको छ”, उहाँले भन्नुभयो,“प्रदर्शनी साउन २० गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।” प्रदर्शनीमा ‘रोबोट वारियर्स लिग, २०२४’ सञ्चालन गरिने छ । लिगमा ४० भन्दा बढी रोबर्टहरुले विभिन्न कम्पनीको प्रतिनिधित्व गर्दै ‘रोबो वार ब्याटल’मा सहभागी हुने र सो लिग छ महिनासम्म चल्ने जनाइएको छ । 

प्रदर्शनीमा रोबोटिक डग, पुस्तकालय तथा विमानस्थल व्यवस्थापनका लागि लक्षित गरी निर्माण गरिएका असिस्टेन्ट एआई रोबोट र गोदाम व्यवस्थापनको अर्धस्वचालित प्रविधि पनि अवलोकन गर्न पाइने छ । विद्यार्थीहरूले पासवर्ड क्रयाकिङको विश्लेषण गर्ने रोबर्ट प्रदर्शनीमा राखिने कलेजले जनाएको छ । कार्यक्रमको मुख्य उद्देश्य पछिल्लो समय सूचना प्रविधि क्षेत्रमा भइरहेको परिवर्तनबारे जानकारी दिनु रहेको छ । विद्यार्थीहरूले आइटीसम्बन्धी अध्ययनपश्चात् जीवनोपयोगी सीप विकासमा कस्तो भूमिका खेलिरहेका छन् भन्नेबारे पनि कार्यक्रममा चर्चा गरिनेछ । 

“आइटीको क्षेत्रमा पछिल्लो समय के-कस्ता परिवर्तन भइरहेका छन्, यही क्षेत्रमा के-के परिवर्तन गर्न सकिन्छ । आइटी अध्ययनले हाम्रो जीवनमा कस्तो भूमिका खेलिरहेको छ र हामीलाई आइटी अध्ययन किन जरुरी छ भन्ने जस्ता कुराको ज्ञान दिन कार्यक्रम आयोजना गरिएको हो”, कलेज प्रमुख प्रमोद पौडेलले भन्नुभयो । विद्यार्थीले बनाएको परियोजना निकै राम्रो भएको र नयाँ पुस्ताको प्रविधि देख्दा खुसी लागेको अवलोकनकर्ता अनुसुया भट्टराईले बताउनुभयो । 

फुडस्टल, बौद्धिक खेल समावेश हुने प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका विद्युतीय सवारीसाधनको अनुभव लिन सकिने छ । प्रदर्शनीमा बैङ्किङ, टुर गाइड, फुटबल, एआई असिस्टेन्ट फर आई हस्पिटल, रोबोटिक वेटर, रोबोट वारलगायतका ३० भन्दा बढी इन्नोभेटिभ प्रोजेक्टहरु राखिएको छ । रासस