• १५ साउन २०८१, मङ्गलबार

किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

blog

काठमाडौँ, साउन १५ गते । सांसदहरूले किसानका समस्या समाधान गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसद माधव सापकोटाले किसानलाई दुधको बक्यौता रकम तत्काल उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले दुध किसानको समस्यामा सरकारको ध्यानाकर्षण गराउँदै सभामुख देवराज घिमिरेलाई यस विषयमा रुलिङको लागि आग्रहसमेत गर्नुभयो । “आज साउन १५, देशैभर खीर खाएर मनाइरहेका छौँ । तर बडो दुःखको कुरा किसानहरूले मेहनत र दुःख गरेर उत्पादन गर्ने दुःखको मूल्य सात महिनादेखि बक्यौता बाँकी छ”, सांसद सापकोटाले भन्नुभयो, “उता दुग्ध विकास संस्थान करिब विघटनको सङ्घारमा छ । विषयको गम्भीरता बुझेर सभामुखमार्फत रुलिङका लागि माग गर्दछु ।”

सांसद रामकृष्ण यादवले तराई-मधेसमा खानेपानी र सिँचाइको व्यवस्था गर्न माग गर्नुभयो । सांसद लालवीर चौधरीले बर्दिया जिल्लाका किसानलाई आवश्यक मलखाद छिटो उपलब्ध गराउन माग गर्नुभयो ।  सांसद रुक्मिणी राना बराइलीले किसानलाई वन्यजन्तुबाट प्रभावित हुन नदिनका लागि तीनै तहको सरकारको प्रयास पर्याप्त नभएको बताउनुभयो । उहाँले बाँदर र हात्तीको आक्रमण नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद राजेन्द्र केसीले उपसभामुख इन्दिरा रानाले अमेरिकाको भिसाका लागि सिफारिस गर्नुभएका व्यक्तिबारे प्रश्न उठाउँदै यसबारे सदनलाई जानकारी गराउन सभामुख समक्ष आग्रह गर्नुभयो । “यी व्यक्ति फरक–फरक पेसामा आबद्ध छन्, अन्तर्राष्ट्रिय महिलाकर्मी होइनन्, अन्तर्राष्ट्रिय मञ्चमा भाग लिन योग्य छैनन्”, सांसद केसीले भन्नुभयो, “कस्ता कस्ता व्यक्तिलाई सिफारिस गर्नुभयो ? कुन प्रयोजन र उद्देश्यका लागि यी व्यक्ति सिफारिस गर्नुभयो । त्यसको सभामुखमार्फत जानकारीका लागि माग गर्दछु ।”

सांसद रणकुमारी बलम्पाकी मगरले सिन्धुली जिल्ला हुँदै  जाने मध्यपहाडी राजमार्गमा स्थानीय किसानको जमिन परेको तर अहिलेसम्म पनि उक्त सडकमा पर्ने जग्गाको लगत कर तिर्न बाध्य भएको भन्दै तत्काल लगत कर कट्टा गर्न माग गर्नुभयो । “बनेपा-बर्दिवास सडक निर्माणका क्रममा स्थानीयलाई फिर्ता गर्ने भनिएका जग्गा हालसम्म फिर्ता भएको छैन । स्थानीयलाई घर बनाउन र बेच्ने वातावरण बनाउनुपर्छ”, सांसद मगरले भन्नुभयो ।

सांसद भगवती चौधरीले देशभर बाढीपहिरोबाट पीडितहरूको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मङ्गलप्रसाद गुप्ताले कपिलवस्तु जिल्लामा बाढीले प्रभावित भएकोतर्फ ध्यानाकर्षण गराउँदै थप क्षति न्यूनीकरणका लागि बाँधको व्यवस्था गर्न माग गर्नुभयो । सांसद रामशङ्कर यावदले सिरहा र सप्तरीमा बलान नदीमा देखिएको समस्या समाधानको माग गरे पनि सरकारको ध्यानाकर्षण नभएको भन्दै गुनासो व्यक्त गर्नुभयो । सांसद भीमप्रसाद आचार्यले सुनसरी र विराटनगर जिल्लामा भन्सारको व्यवस्थापन र सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै, सांसद मनिष झाले जहाज दुर्घटनाको अनुसन्धानका क्रममा सङ्कलन गरिएको ‘भ्वाइस रेकर्ड’ बाहिरिएकाबारे अनुसन्धान गर्नुपर्ने बताउनुभयो । सांसद महेशकुमार बर्तौलाले स्वास्थ्य बिमा कार्डमार्फत देशका जुनसुकै उपचार पाउने व्यवस्था गर्न माग गर्नुभयो । सांसद महेश बस्नेतले इलामका लोपोन्मुख लोक्पा जातिको उक्त जिल्लामा रहेको सांस्कृतिक धरोहर एवम् पुरातात्त्विक महत्वको गुम्बा संरक्षणका लागि माग गर्नुभयो । सांसद मिना तामाङले अघिल्लो सरकारले उठाएको मुद्दा वर्तमान सरकारले उल्टाउने काम गरेकोमा शङ्का व्यक्त गर्नुभयो । 

सांसद मुक्ताकुमारी यादवले माध्यमिक शिक्षा परीक्षा(एसइई)को पूरक परीक्षाको नतिजा प्रकाशन समयमा गर्न अग्रिम ध्यानाकर्षण गराउनुभयो । सांसद मेनकाकुमारी पोखरेलले दाङ जिल्ला अस्पतालमा स्वास्थ्य उपकरणको मर्मत नहुँदा बिरामीले सास्ती भोग्नु परेको भन्दै स्वास्थ्य उपकरण खरिददेखि मर्मत सम्भारका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद मैना कार्कीले मानसिक स्वास्थ्य विकराल बन्दै गएको तथ्याङ्क प्रस्तुत गर्दै यसबारे सचेतना फैलाउन र उपचारको पहुँच सबैमा पुर्‍याउनका लागि स्थानीय तहको संरचनालाई सक्रिय बनाउन आग्रह गर्नुभयो । 

सांसद रघुजी पन्तले संस्कृति र भाषा संरक्षणमा योगदान पुर्‍याउने साप्ताहिक पत्रिकालाई आवश्यक विज्ञापन र बजेट व्यवस्था गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद रणेन्द्र बरालीले भ्रष्टाचारको मुद्दामा सरकार व्यक्ति विशेष लचिलो हुन नहुनेमा जोड दिनुभयो । सांसद राजेन्द्र बजगाईँले सांसदले सदनमा उठाउनुभएको विषयलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले सामाजिक सञ्जालमा गर्नुभएको टिप्पणीप्रति आपत्ति जनाउनुभयो ।

सांसद रामकुमार राईले सरकारले एकै पटक धेरै सचिव र राजदूत सरुवा एवम् फिर्ता गर्ने गरेको निर्णयप्रति आशङ्का व्यक्त गर्नुभयो । सांसद बिजुला रायमाझीले प्रकोपको उच्च जोखिममा महिला र बालबालिका रहेकोप्रति सचेत गराउनुभयो । सांसद रोशन कार्कीले राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले एसइई परीक्षामा सम्मेलित विद्यार्थीको भविष्यसँग खेलबाड गरेको आरोप लगाउनुभयो । “१८ हजार ६ सय विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएकोमा छ सय २१ जना विद्यार्थीको नतिजा नै फरक परेको छ । यसरी विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई कारबाही गर्नुपर्छ ”, सांसद कार्कीले भन्नुभयो ।

सांसद लक्ष्मी तिवारीले नेपाली खेलाडीको क्षमता अभिवृद्धिका लागि आवश्यक वातावरण बनाउनुपर्ने बताउनुभयो । सांसद लालप्रसाद सावा लिम्बूले देशभर रहेका स्यानिटर प्याड तथा डाइपर उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ आयातमा लगाइएको कर घटाउन माग गर्नुभयो । रासस