• १५ साउन २०८१, मङ्गलबार

सहकारी छानबिन समितिमा पाण्डेको ठाउँमा बडू

blog

काठमाडौँ, साउन १५ गते । प्रतिनिधि सभाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा प्रतिनिधि सभाका तर्फबाट सदस्यहरूको मनोनयन गरेको छ ।

मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा सङ्घीय संसद्का संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा प्रतिनिधि सभाको तर्फबाट सदस्यहरूको मनोनयन गरेको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यहरूमा ठाकुरप्रसाद गैरे, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद तिमल्सिना, प्रतिमा गौतम, प्रभु हजारा, बुद्धिमान तामाङ, शान्ति बि.क., सन्तोष परियार, सरस्वती सुब्बा, हितराज पाण्डे र हेमराज राईलाई मनोनयन गरिएको घोषणा गर्नुभयो ।

त्यस्तै सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा नेपाली कांग्रेसका तर्फबाट सदस्य रहेका बद्रीप्रसाद पाण्डेको स्थानमा दिलेन्द्रप्रसाद बडूको नाम हेरफेर गरिएको छ । पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भएसँगै उहाँको ठाउँमा बडूलाई ल्याइएको हो ।

त्यसैगरी नेपाली कांग्रेसका सांसद सीता गुरुङ कानुन, न्याय तथा मानव अधिकार समितिबाट पूर्वाधार विकास समितिमा र मोहनबहादुर बस्नेत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट सार्वजनिक लेखा समितिमा स्थानान्तरण हुनुभएको छ ।

प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

प्रतिनिधि सभाको आगामी बैठक साउन २० गते आइतबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।