• १५ साउन २०८१, मङ्गलबार

प्रभावकारी बन्दै भूमिगत सिँचाइ प्रणाली

blog

फाइल तस्बिर

जनकपुरधाम, साउन १५ गते । कृषि क्षेत्रको उत्पादकत्वमा वृद्धि तथा किसानको खेतमा सिँचाइ सुविधा पुर्‍याउनका लागि महोत्तरी र धनुषामा भूमिगत सिँचाइ प्रणाली प्रभावकारी बनेको छ । नहर एवम् नदीनालाबाट सिँचाइको व्यवस्था नभएको तथा आकाशे पानीमाथि निर्भर रहेका किसानका लागि यो प्रविधि वरदान साबित भएको महोत्तरी गौशालाका स्थानीय किसान रामलाल महतोले बताउनुभयो । 

उहाँले यसबाट खेतीका लागि मात्रै नभई खानपिनका साथै दैनिक जीवनमासमेत प्रयोग भइरहेको उल्लेख गर्नुभयो । मधेस प्रदेश सरकारको जलस्रोत तथा भूमिगत सिँचाइ विकास डिभिजन कार्यालय जलेश्वर, महोतरीद्वारा धनुषा तथा महोत्तरी जिल्लाको ग्रामीण क्षेत्रमा जडान गरिएको डिपट्युवेल तथा पावरड्रिलबाट सिँचाइ सुविधा पुर्‍याइएको हो । एउटा डिपट्युवेलबाट ४० बिघा खेत सिञ्चित हुने गरेको छ । 

महोत्तरी तथा धनुषामा हालसम्म ३५ वटा डिपट्युवेल जडान भएर एक हजार चार सय बिघा कृषियोग्य जमिन सिञ्चित भइरहेको छ । एउटा डिपट्युवेलको संरचना निमार्णदेखि सञ्चालन गर्दाको अवस्थासम्म रु एक करोडभन्दा बढी रकम लाग्ने गरेको छ । गत आर्थिक वर्षमा थप पाँचवटा डिपट्युवेलको निर्माण प्रक्रिया सुरु भएको छ । एउटा निर्माणमा ३० लाखसम्म खर्च भएको तथा चालु आर्थिक वर्षमा थप खर्च गरेर निर्माण सम्पन्न गरिने सो कार्यालयले जनाएको छ । 

अहिले पाँचवटाको निर्माणमा एक करोड ५० लाख खर्च भइसकेको छ । त्यसैगरी, महोत्तरी तथा धनुषामा हालसम्म ५० वटा पावरड्रिल निर्माण भई सञ्चालनमा रहेको सो कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर अमलेश यादवले जानकारी दिनुभयो  । एउटा पावरड्रिलबाट नौ बिघा जमिन सिञ्चित हुने गरेको छ । एउटा पावरड्रिल निर्माणदेखि सञ्चालनसम्ममा १६ लाख लाग्ने गरेको छ । 

अहिलेसम्म ५० वटा पावरड्रिल निमार्णमा एक करोड २९ लाख ६० हजार खर्च भएको कार्यालयले जनाएको छ । दुवै जिल्लामा डिपट्युवेल तथा पावरड्रिलबाट १८ सय ५० बिघा जमिनमा सिँचाइ भइरहेको कार्यालय प्रमुख नयन पोखरेलले बताउनुभयो । डिपट्युवेल निर्माणमा उपभोक्ता समितिमार्फत हुने गरेको छ । रासस