• १५ साउन २०८१, मङ्गलबार

चुम्चेतमा चार दिनदेखि विद्युत अवरुद्ध

blog

गुणबहादुर रोका 

सुलीकोट, साउन १५ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्चेतमा विद्युत अवरोध हुँदा २५० घर धुरी ४ दिनदेखि अन्धकारमा बस्नु परेको छ। शनिबारदेखि परेको अविरल वर्षाका कारण चुमनुब्री गाउँपालिकास्थित चुम्लिङ चुम्चेत लघुजलविद्युत आयोजना बाढीले बगाएपछि चुम्चेतका स्थानीयहरू अन्धकारमा बस्नु परेको हो । 

अविरल वर्षाले शनिबार ७५ किलो वाट क्षमताको लघुजलविद्युत आयोजनमा क्षति पुर्‍याएको वडा अध्यक्ष सरोज लामाले जानकारी दिनुभयो । "चुम्चेत गाउँ नजिकैको चमारी हिमालबाट झरेको खोलामा एक्कासि बाढी आएर लघुजलविद्युतको ड्याम नै बगायो", उहाँले भन्नुभयो, "जमिन, कुलो, पाइप र ड्यामको बाँध नै बगाएको छ ।"

२०७९ सालमा कादुरी नामक संस्थाले उक्त आयोजना निर्माण गरेको थियो । त्यस आयोजनाबाट वडा नम्बर ६ चुम्चेतका करिब २५० घरधुरीले बिजुली बाल्दै आएको वडा अध्यक्ष लामाको भनाइ छ । चार दिनदेखि बन्द भएको विद्युत खुलाउन सकिन्छ की भनेर गाउँपालिकाको विपद् व्यवस्थापनको बजेटबाट तत्काल मर्मत गर्न सकिन्छ भनेर प्राविधिक टोली गएको थियो ।

यस्तै, "बनाउन सक्ने कुनै सम्भावना नदेखिएपछि कादुरी भन्ने संस्था उक्त ठाउँमा आएपछि मात्र मर्मतको काम सुरु हुन्छ", उहाँले भन्नुभयो, "विद्युत सेवा अवरुद्ध हुँदा विभिन्न समस्या भोग्नु परेको स्थानीयले गुनासो गरेका छन् ।"

सो क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको र चुम्चेतको लोक्पा गाउँ बाहेक वडाका सबै गाउँ अन्धकार बनेको वडा अध्यक्ष लामाको भनाइ छ । कादरी भन्ने संस्थालाई जानकारी गराइएकाले ढिला भए पनि त्यही संस्थाले मर्मत सम्भार गरी पुन सञ्चालनमा ल्याइदिने विश्वास रहेको वडा अध्यक्ष लामाले बताउनुभयो।