• १५ साउन २०८१, मङ्गलबार

खोला बस्तीमा पस्दा ३० घर डुबानमा

blog

फाइल तस्बिर

भक्तपुर, साउन १५ गते । सूर्यविनायक नगरपालिका-५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन् । गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाखभन्दा बढी क्षति भएको छ ।

मध्यरातिदेखि बस्तीमा पानी पसेपछि अधिकांश घरको भुइँतलाभित्र पसेको पानी चार फिटसम्म पुगेपछि मध्यराति धेरैको बिचल्ली भएको थियो । घरको भुइँतलाका भान्सादेखि शयन कक्षसमेतमा पानी पसेपछि लत्ताकपडा, खाद्यान्न, ओछ्यान र इलेक्ट्रिक सामानमा क्षति पुगेको छ । साथै टोलमा रहेको नौवटा गाडी र २० भन्दा बढी मोटरसाइकल पूरै डुबेर क्षति पुगेको छ ।

स्थानीय समाजसेवी अनिता पाण्डेले खोलाको बाढी बस्तीमा पस्दा करिब ३० घरका सामानमा क्षति पुगेको बताउनुभयो । उहाँले घरमा रहेका गाडी, मोटरसाइकल र अन्य समानहरूमा क्षति पुगेको तथा लाखौँको क्षति पुगेको बताउनुभयो । स्थानीय कला थापाले परिवार मध्यराति कोठामा पानी परेर झ्यालको उचाइसम्म पुगेपछि सानो बच्चा च्यापेर कौसीमा गएर बस्नुपरेको बताउनुभयो । 

यस क्षेत्रमा बस्ती बढेको र खोला साँघुरिएपछि हरेक वर्ष पानी बस्तीमा पस्ने गरे पनि यस वर्ष धेरै पानी पसेर पहिलो पटक धेरै क्षति पुर्‍याएको हो । कतिपयलाई खाने र राति सुत्ने सामानको अभाव भएको छ । स्थानीय वडा कार्यालयका केही जनप्रतिनिधि र केही नेता आज बिहान आएर अवस्थाको निरीक्षण गरेर गए पनि स्थानीय भने खोलामा कोरिडोर निर्माण नगरिदिँदा समस्या आएको भन्दै आक्रोशित बनेका थिए । पाण्डेले स्थानीयले खोलामा कोरिडोर बनाउन वर्षौँदेखि माग गरे पनि जनप्रतिनिधिले चासो नदिएको भन्दै स्थानीय आक्रोशित बनेको बताउनुभयो । 

खोलामा जमेको माटो हटाएर सम्भावित जोखिम कम गर्ने भनिए पनि तीन तहकै सरकारले दीर्घकालीन समाधानको उपाय अवलम्बन गर्नुपर्ने उहाँले बताउनुभयो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले सोही स्थानमा खोलाको पर्खाल भत्किएको र एक खाद्य कम्पनीमा क्षति पुगेको बताउनुभयो । उहाँले बस्तीमा पानी पसेको जानकारी आएपछि विभिन्न ठाउँमा क्षतिको विवरण लिन प्रहरी परिचालन गरेको जनाउँदै साँझसम्ममा सबै विवरण आउने बताउनुभयो । रासस