• १५ साउन २०८१, मङ्गलबार

डिभिजन वन कार्यालय गोरखामा एक करोड बढी राजस्व सङ्कलन

blog

गुणबहादुर रोका 

सुलीकोट, साउन १५ गते । डिभिजन वन कार्यालय गोरखाले गत आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि असार मसान्तसम्म एक करोड ३७ लाख राजस्व सङ्कलन असुल उपर गरेको छ । डिभिजन वन कार्यालय गोरखाले सबैभन्दा धेरे निजी वनको मूल्य अभिवृद्धि कर अन्तर्गत एक करोड १ लाख ४६ हजार रुपियाँ राजस्व सङ्कलन गरेको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले जानकारी दिनुभयो ।  

उहाँका अनुसार वन क्षेत्रको रोयल्टी, जडीबुडी सङ्कलन, बेवारिसे, जोखिमयुक्त आयोजना वापत २३ लाख सङ्कलन भएको छ भने निजी तथा सामुदायिक वन प्रदेश सेवा शुल्क वापत १० लाख ४३ हजार र राष्ट्रिय वनको काठ दाउराबाट १ लाख ८९ हजार सङ्कलन गरिएको उहाँले बताउनुभयो । 

त्यस्तै, डिभिजन वन कार्यालय गोरखाले मंगलबार एक कार्यक्रमका बिच उत्कृष्ट काम गरेको भन्दै सामुदायिक वन र कबुलियती वनका ६ समुहलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । सामुदायिक वनतर्फ प्रथम हुने भीमसेन थापा गाउँपालिका–६ थाकालडाडा ७५००, द्धितिया हुने गोरखा नगरपालिका–९ लक्ष्मी महिला ५५००, तृतीया हुने पालुङटार नगरपालिका–७ कालिका सामुदायिक बनलाई ३५०० नगदले सम्मान गरिएको हो ।  

त्यसैगरी कबुलियत वनतर्फ गण्डकी गाउँपालिका–१ पिपलडाडा प्रथम, भीमसेन थापा गाउँपालिका१ बिबिरे खाल्डो ग द्धितिया र अजिरकोट गाउँपालिका–४ आरनडाँडा वन तृतीयालाई समान क्रमशः ७५००, ५५००, र ३५०० नगद र प्रमाणपत्रले सम्मान गरिएको डिभिजन प्रमुख मदन मोहन शाल्डियले जानकारी दिनुभयो । 

डिभिजन वन कार्यालय गोरखाले गत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षा गरिएको थियो भने आर्थिक वर्ष २०८१-०८२ को बारेमा जानकारी गराइएको थियो ।