• १५ साउन २०८१, मङ्गलबार

जुवा खेलाएको अभियोगमा नौ जना पक्राउ

blog

काठमाडौँ, साउन १५ गते । प्रहरीले जुवा खेलिरहेको अवस्थामा दश लाख ११ हजारसहित नौ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ महानगरपालिका-६ जोरपाटी बस्ने ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भई हाल काठमाडौँको टोखा नगरपालिका-५ बस्ने ३८ वर्षीय नारायण लाबुङ, बुढानीलकण्ठ नगरपालिका-५ देउला टोल बस्ने २१ वर्षीय कवीर देउला रहेका जनाइएको छ ।

यस्तै, काठमाडौँ-१९ वसन्तपुर बस्ने २१ वर्षीय निलेश महर्जन, सोही ठाउँका ४५ वर्षीय राजेश श्रेष्ठ, बुढानीलकण्ठ-५ देउला बस्ने ३३ वर्षीया सरिता देउला, काठमाडौँ-१५ डल्लु बस्ने ४८ वर्षीय दीपक महर्जन, काठमाडौँ-१३ कालीमाटी बस्ने ४८ वर्षीय विवेक महर्जन तथा काठमाडौँ-१५ डल्लु बस्ने ५२ वर्षीय प्रकाश शाही पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सोमबार राति काठमाडौँ-४ चुनदेवीमा रहेको यमकुमारी आलेको साढे तीनतले घरको छतमा हारजित हुने गरी जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त महाराजगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।” रासस