• ११ मंसिर २०८१, मङ्गलबार

कर्णाली कोरिडोरको सर्केगार्ड खार्पुनाथ सडक २७ दिनपछि सुचारु

blog

कर्णाली कोरिडोरको हुम्ला खण्डमा सडक मर्मतपछि यातायातका साधन सुचारु हुँदै । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, साउन १५ गते । कर्णाली कोरिडोरको हुम्ला खण्डको सर्केगार्डदेखि खार्पुनाथ गाउँपालिका-५ को खार्पुसम्मको सडक अवरुद्ध भएको २७ दिनपछि सुचारु भएको छ । अवरुद्ध सडकलाई लालीवगरदेखि दुल्लीकुनासम्म सडक निर्माणको काम गर्दै आएको नेपाली सेनाले भत्केको सडक मर्मत गरेपछि सडक सुचारु भएको हो । 

प्रहरी निरीक्षक नरेन्द्र चन्दले पहिरो अवरुद्ध भएको २७ दिनपछि मङ्गलबार बिहानबाट सर्केगार्ड खार्पु सडक सुचारु भएको बताउनुभयो । उक्त खण्डको सडक सेनाले निर्माण गरेको तर हाल नेपाली सेना कालीकोट गएको कारण सेनाले नै कामदार तथा मेशिन लगाएर सडक मर्मत गरेपछि सडक सुचारु भएको हो । 

सडक विभागलाई सेनाले आफ्नो जिम्माको सो खण्डको सडक हस्तान्तरण नगरी सकेको कारण भत्केको सडक सेनाले नै मर्मत गरेर यातायात सेवा सुचारु गरेको उहाँले बताउनुभयो । एक हप्ता लगातार अवरुद्ध सडकको मर्मत कार्य गरेपछि सुचारु गरिएको हो । सडक सुचारु भएसँगै यो खण्डमा खार्पुमा आउने चौध वटा मालवाहक सवारी साधन आउन सुरु भएको छ । 

यसअघि सलीसल्ला सर्केगार्ड खण्डको न्यासीमा अवरुद्ध भएको सडक मर्मतपछि यातायात सेवा सञ्चालनमा आएको थियो । खार्पु खण्डको लाली बगरदेखि खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारसम्म एघार स्थानमा पहिरो गएर सडक भत्किएको कारण यातायात सेवा अवरुद्ध रहेको थियो । अब कर्णाली कोरिडोरको हुम्ला खण्ड पूर्ण रूपमा यातायात सेवा सुचारु भएको हो ।