• १६ भदौ २०८१, आइतबार

राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

blog

आयोजनाको मुख्य सुरुङ 'ब्रेक थ्रु' गरिएपछि । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, साउन १५ गते । राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ६ हजार दुईसय ७० मिटर लामो मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरिएको हो । 

आयोजनामा रघुगंगा गाउँपालिका ४ दग्नामको फेदीमा रहेको बाँधबाट वडा नम्बर ३ अँधेरीखोलाको दोस्रो अडिट जोड्ने दुई हजार तीनसय ३५ मिटर दूरीको सुरुङ पुरा भएसँगै आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरिएको आयोजना व्यवस्थापक राज विष्टले जानकारी दिनुभयो ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र रघुगंगा हाईड्रोपारका प्रबन्ध सञ्चालक गणेश केसीले  मंगलबार स्विच दबाएर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो ।

आयोजनाको मुख्य सुरुङ खन्ने काम पूरा भएसँगै आयोजनाको अन्य निर्माणको कामले पनि गति लिने अपेक्षा गरिएको सञ्चालक केसीले बताउनुभयो । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति र जडान लगायतका कार्यहरू भइरहेका छन् । 

रघुगंगा गाउँपालिका–३ पिप्लेस्थित मुख्य सुरुङको आउटलेट (अन्तिम विन्दु) बाट तिल्केनीचौरमा निर्माणाधीन विद्युतगृहमा पानी खसाल्ने पाइप लाइन राख्ने एक हजार ४९ मिटर लामो ‘प्रेसर साफ्ट’ सुरुङ गत जेठ महिनामा जोडिएको आयोजनाले जनाएको छ ।  

मुख्य सुरुङबाट आउने पानीलाई विद्युतगृह लैजाने पाइप लाइन राख्नका लागि प्रेसर साफ्ट बनाइएको हो । पिप्लेमा ६१ मिटर गहिरो ‘सर्च साफ्ट’ निर्माण भएको छ ।

भारतीय आयात–निर्यात (एक्जिम) बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्ससँग २०७४ मङ्सिरमा सम्झौता भएको थियो ।

वि.सं. २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परीक्षण गरी आयातको प्रक्रिया अघि बढाइएको छ । इलेक्ट्रोमेकानिकलतर्फको भौतिक प्रगति २५ प्रतिशत छ । बाँधस्थल निर्माण तर्फ ५६ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । 

रघुगंगा गाउँपालिकाको वडा नं ४ दग्नाम र ५ नं वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युतगृहको संरचना निर्माणको काम भइरहेको छ । आगामी अक्टोबरमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।