• १२ असोज २०८१, शनिबार

सङ्घीय संसद् भवन निर्माण छिटो सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन

blog

उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह

काठमाडौँ, साउन १५ गते । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित सङ्घीय संसद् भवन निर्माण कार्यप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

मङ्गलबार अनुगमनको क्रममा पहिलो पटक त्यहाँ पुग्नुभएको उहाँले थप गरिएको समयभित्र निर्माण कार्य सम्पन्न हुनेगरी निर्माण कम्पनीले काम नगरेपछि असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

उहाँले सबै सम्भावनालाई प्रयोग गरेर भए पनि थप गरिएको समय सीमाभित्र सो भवन निर्माण कार्य सम्पन्न गर्न पनि निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । पछिल्लो पटक थप गरिएको समय अब नौ महिना बाँकी रहेकाले त्यसमा सम्पन्न हुनेगरी कामहरूको सङ्ख्या बढाएर कामलाई तीव्रता दिन पनि उपप्रधानमन्त्री सिंहले निर्माण कम्पनीलाई सचेत गराउनुभयो ।

उपप्रधानमन्त्री सिंहले समयमै काम सम्पन्न हुनेगरी दैनिक तीन सिफ्टमा काम गर्न आफूहरूले निर्माण कम्पनीलाई घचघच्याइने काम गरिरहेकाे बताउनुभयो । बाँकी भएको कामलाई कन्ट्रयाक गरेको समयभित्रै सक्नका लागि काममा ढिलासुस्ती भएकाले त्यसलाई घच्घच्याउनका लागि पनि आफूहरूले काम गरिरहेको उहाँको भनाइ थियो ।

सहरी विकास मन्त्रालयले सो काम छिटो सम्पन्नका लागि कामदारको सङ्ख्या दोब्बर बनाउन पनि निर्माण कम्पनीलाई दबाब दिँदै आएको छ । तर ठेकदार कम्पनीले सो अनुसार काम नगरेको मन्त्रालयका सचिव मणिराम गेलालले बताउनुभयो ।

उहाँका अनुसार आगामी नौ महिनाभित्र अथवा आगामी चैत्र १८ गतेसम्मका सो भवनको निर्माण कार्य सम्पन्न गरिसक्ने पछिल्लो सम्झौता छ । त्यस अवधिभित्र सम्पन्न हुनेगरी काम गर्न निर्माण कम्पनीलाई सहरी विकास मन्त्रालयले दबाब दिँदै आएको छ ।

२०७६ साल असोज १६ गते करिब ६ अर्ब ३० करोड लागतमा तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौतासहित सुरु भएको सो भवन निर्माण कार्य कोभिडका कारण केही समय पछि धकेलिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

बाँकी भने थप गरिएको समयभित्र सो कार्य सम्पन्न गराउनका लागि निर्माण कम्पनीलाई निरन्तर दबाब दिने काम भइरहेको मन्त्रालयका सचिव गेलालले बताउनुभयो ।

यसअघि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो भवन निर्माण कार्य छिटो सक्नेगरी आवश्यक सहजीकरण गर्न सरकारलाई सचेत गराउँदै आउनुभएको छ ।