• ११ मंसिर २०८१, मङ्गलबार

गलेश्वरधाममा तीन लाखभन्दा बढी भेटी सङ्कलन

blog

साउन दोस्रो सोमबार गलेश्वरधाममा भक्तजनहरु । तस्बिर : साधन घर्ती

साधन घर्ती

म्याग्दी (दरबाङ), साउन १५ गते । म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा यस वर्षको साउन महिना दोस्रो सोमबार तीन लाख ३६ हजार १८५ रुपियाँ भेटी सङ्कलन भएको छ । जिल्लाको बेनी नगरपालिका–९,स्थित अवस्थित गलेश्वर शिवालय मन्दिरमा सोमबार भक्तजनबाट चढाइएको भेटी मङ्गलबार बिहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा गणना गरिएको थियो । 

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अनुसार,साउनको पहिलो सोमबार तीन लाख ७२ हजार ३७३ रुपियाँ सङ्कलन भएको थियो ।

मन्दिरमा सङ्कलित भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चावी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समूह, प्रहरी र स्थानीयबासीको उपस्थितिमा  गनेर सार्वजनिक गरिएको हो । दान सङ्कलन गर्ने क्रममा छिटफुट भेटी भेटिएमा हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ । मन्दिरमा हुने ठूला पर्वहरुपछि भेटी गणना गरेर सार्वजनिक गर्ने गरिएको छ । 

साउन महिनामा यस वर्ष चार सोमबार परेको र सबै सोमबारमा हुने भक्तजनको भिडपछि मङ्गलबार रकम गणना गरेर सार्वजनिक गर्ने कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताउनुभयो । 

९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमा प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पूरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन् ।