• ४ भदौ २०८१, मङ्गलबार

घट्यो धानचामल आयात

blog

काठमाडौँ, साउन १५ गते । गत आर्थिक वर्षमा धानचामल आयात ४० प्रतिशतले घटेको छ । भारतले धान निर्यातमा भन्सार शुल्कका साथै चामलमा कोटा सिस्टम लगाएका कारण आयातमा कमी भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८०/८१ मा २२ अर्ब रुपियाँ बराबरको धान चामल आयात भएको छ । 

गत आवमा १२ अर्ब ९४ करोड १० लाख रुपियाँको ३१ करोड ९० लाख केजी धान र नौ अर्ब २८ करोड ९८ लाख ५६ हजार रुपियाँ बराबरको आठ करोड ८७ लाख २३ हजार केजी चामल आयात भएको छ । आव २०७९/८० मा ३६ अर्ब रुपियाँ बराबरको धान र चामल आयात भएको थियो । 

२०७९/८० मा १९ अर्ब १९ करोड रुपियाँ बराबरको ५५ करोड ५८ लाख केजी धान र १५ अर्ब ९१ करोड रुपियाँको २३ करोड ३९ लाख केजी चामल आयात भएको थियो । गत आवमा भारतले धान निर्यातमा २० प्रतिशत शुल्क लगाएका कारणले आयातमा कमी आएको छ । गत आवमा १४ अर्ब ८९ करोड रुपियाँको मकै आयात भएको छ । 

विभागका अनुसार अघिल्लो आवमा १७ अर्ब ९३ करोड रुपियाँको मकै आयात भएको थियो । प्रत्येक वर्ष स्थानीय उत्पादनले माग धान्न नसक्दा ठुलो परिणाममा खाद्यान्न आयात हुने गरेकोमा गत वर्ष भारतले आयातमा कडाइ गरेकाले समग्र खाद्यान्न आयातमा कमी आएको हो । 

गत आवमा ७५ करोड ४१ लाख ९५ हजार रुपियाँको कोदो आयात भएको छ । ३३ करोड ८७ लाख रुपियाँको जौ, ४७ करोड १३ लाख रुपियाँको गहुँ आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।  

गत आर्थिक वर्षमा ४५ अर्ब ७० करोड ७४ लाख ७५ हजार रुपियाँको कुल खाद्यान्न (चामल, धान, मकै, जौ, गहँ, कोदो) आयात भएको छ । आव २०७९/८० मा ५६ अर्ब ६२ करोड ५३ लाख ४७ हजार रुपियाँको खाद्यान्न आयात भएको थियो ।  

नेपाल चामल, तेल, दाल उद्योग सङ्घका अध्यक्ष कुमुद दुगडले भारतले धानचामल निर्यातमा भन्सार शुल्क लगाएका कारण आयातमा कमी भएको जानकारी दिनुभयो । धानमा आयात गर्दा व्यवसायीले २० प्रतिशत भन्सार शुल्क पाँच प्रतिशत कृषि सेवा शुल्क तिर्नु पर्छ । 

आयातमा कडाइ गरेसँगै गैरकानुनी ढङ्गले खाद्यान्न आयात हुँदा राजस्व सङ्कलनमा कमी आउने गरेको छ । धानको आयातमा भन्सार शुल्क लाग्दा बजारमा चामलको अभाव भएको उहाँको भनाइ छ । 

बजारमा अभाव हुँदा प्रतिबोरामा दुई सय रुपियाँसम्म मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ । समयमा धान आयात नभए बजारमा थप मूल्य बढ्न सक्ने व्यवसायीको भनाइ छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरि केसीले चामलको आयात किन घट्यो भनेर अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो । 

बजारमा खाद्यान्न अभाव हुन नदिनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट छ लाख टन चामल आयात गर्नका लागि पहल गर्न पत्राचार गरिएको दुगडको भनाइ छ । नयाँ धानको उत्पादन हुने बेलासम्म बजार माग धान्न आगामी असोज महिनासम्मका लागि छ लाख मेट्रिक टन धान आयात गर्न एक साताअघि पत्राचार गरेको सङ्घले जनाएको छ । 

अर्जेन्टिनाबाट पोल्टी फार्मका लागि ठुलो परिमाणमा मकै आयात हुने गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठुलो परिमाणमा मकै आयात हुने गरेको छ ।