• १५ साउन २०८१, मङ्गलबार

देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्छ : प्रधानमन्त्री ओली

blog

प्रधानमन्त्री केपी शर्मा ओली युगकवि सिद्धिचरण पुरस्कार तथा युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर: प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, साउन १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने बताउनुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको एक सय १३ औँ जन्मजयन्ती समारोहलाई सोमबार यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले युगकविका रचनाले क्रान्तिमा होमिएका युवाहरूको उदाहरण दिँदै देश र जनताका लागि आवश्यक पर्दा युवाहरू जोसिनु स्वाभाविक रहेको बताउनुभएको हो ।

“जसरी नेपाल-अङ्ग्रेज युद्धका बेला नेपाली जोसिएका थिए, त्यसरी नै आवश्यक पर्दा कहिलेकाहीँ जोसिनुपर्छ, युवाहरू चम्किनुपर्छ”, उहाँले भन्नुभयो । प्रम ओलीले आफू पनि युगकवि सिद्धिचरणबाट वैचारिक र साहित्यिकरुपमा प्रभावित रहेको उल्लेख गर्नुभयो । “उहाँ मेरो पनि गुरु हो, उहाँबाट म अति  प्रभावित छु”, उहाँले भन्नुभयो, “उहाँले लेख्नुभएको गीतको प्रेरणाबाट धेरै युवाहरू क्रान्तिमा होमिन र सहिद हुन तयार हुनुभयो । गङ्गालाल श्रेष्ठ पनि उहाँकै गीतबाट प्रभावित भई सहिद हुनुभएको प्रसङ्ग आयो । म पनि क्रान्तिमा होमिएको थिएँ ।”


युगकविका सिर्जनाबाट धेरै स्रष्टाको सिर्जनामै प्रभाव परेको उहाँको भनाइ थियो । युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा युगकवि सिद्धिचरण पुरस्कार प्रा.डा.उषा ठाकुरलाई नगद एक लाखसहित प्रदान गरियो । युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका लागि ओखलढुङ्गा संवाददाता नवराज कार्की नगद ४० हजारसहित पुरस्कृत हुनुभयो ।

सोही समारोहमा प्रतिष्ठानद्वारा प्रकाशित ‘युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ नामक दुईवटा कृति विमोचन गरिएको छ । वि.सं.१९६९ जेठ ९ गते जन्मनुभएका युगकवि श्रेष्ठको जन्मजयन्ती समारोह जेठ ९ गते गरिँदै आएकामा यस वर्ष उहाँकी सुपुत्रीको निधन भएकाले स्थगित गरी आज सम्पन्न गरिएको हो । 

कार्यक्रमको अध्यक्षता युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष कवि वैरागी काइँलाले गर्नुभएको थियो । समारोहमा प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मालगायत साहित्य र प्राध्यापन क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।


कवितामा क्रान्ति शब्द प्रयोग गरेकै कारण तत्कालीन राणा शासकहरूले सिद्धिचरण श्रेष्ठलाई सर्वस्वसहित १८ वर्ष कारावासको सजाय सुनाएको थियो । उहाँ पाँच वर्ष जेल सजायपछि वि.सं.२००२ मा जेलमुक्त हुनुभएको थियो । उहाँका हालसम्म ३९ कृति प्रकाशित भइसकेका छन् । अझै प्रकाशोन्मुख सात वटा कृति रहेको युगकवि सिद्धिचरण प्रतिष्ठानले जनाएको छ । रासस