• १० मंसिर २०८१, सोमबार

सुत्केरीलाई कोसेली : लोकल कुखुराको भाले र घिउ

blog

सुत्केरीलाई भाले प्रदान गर्दै उपाध्यक्ष मञ्जुकुमारी दर्लामी । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, साउन १४ गते । महिला सुत्केरी भएको समयमा झोलिलो र पोसिलो खाना आवश्यक पर्ने भन्दै यहाँका एक स्थानीय तहले सुत्केरी भेट्न जाँदा लोकल भाले लिएर जाने नियम बनाएको छ ।

गर्भवती तथा सुत्केरीको साथमा उपाध्यक्ष कार्यक्रममार्फत कालीगण्डकी गाउँपालिका गुल्मीले ११२ जना सुत्केरीलाई लोकल कुखुराको भाले लिएर भेटेको गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा पालिकाभित्र ११२ जना महिला सुत्केरी भएकाले उनीहरुलाई उपाध्यक्ष भेट्न जाँदा लोकल कुखुराको भाले लिएर भेट्ने र उनीहरुको स्वास्थ्यको बारेमा जानकारी लिएको उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले बताउनुभयो ।

सुत्केरी अवस्थामा झोलीलो र पोसिलो खाने कुरा आवश्यक पर्ने भएकाले सुत्केरीलाई भाले कोसेली दिने गरेको उहाँको भनाइ छ । सुत्केरी अवस्थामा बढी आराम गर्नुपर्ने, झोलिलो र पोसिलो खानेकुराहरु खानुपर्ने, स्वास्थ्यको एकदमै ख्याल गर्नुपर्ने भन्दै सम्झाउने गरेको दर्लामीले बताउनुभयो । 

पहिलो प्राथमिकता लोकल कुखुराको भाले र भाले उपलब्ध नभएमा घिउ लिएर जाने गरेको उहाँको भनाइ छ । यसका साथै परिवारका सदस्यहरुलाई पनि साथमै राखी स्वास्थ्यकर्मीहरुले स्वास्थ्यको बारेमा सम्झाउने र बुझाउने गरेको स्वास्थ्य शाखा प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

यस्तै गर्भवती महिलाहरुलाई सुत्केरी हुनुपूर्व दुई पटक पोषण प्याकेज वितरण गर्ने र स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने गरेको स्वास्थ्य शाखाले जनाएको छ । पोषण प्याकेजमा एक क्रेट अण्डा र चना दिने गरिएको छ । यसका साथै सफा र सुग्घर रहनुपर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि सावुन र नङ कट वितरण गर्ने गरिएको थापाले बताउनुभयो । 

गर्भावस्थामा पोषणसहित र सुत्केरीपछि भाले लिएर गाउँपालिका आउँदा स्थानीय सरकार आफूहरुको साथमा रहेको अनुभूति भएको वडा नम्बर दुई अर्वेनीकी सुत्केरी रेनुका सिंजालीले बताउनुभयो ।

घरमा आर्थिक अवस्था राम्रो भएकाहरुलाई भन्दा पनि आर्थिक अवस्था कमजोर भएकाहरुलाई यस कार्यक्रमले ठुलो राहत मिल्ने जमुना बुढाले बताउनुभयो। यसका साथै पोषणमा थप सुधार गर्न र यस कार्यक्रमलाई निरन्तरता दिइराख्न अर्की सुत्केरी रविना न्यौपानेले स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

गर्भवती र सुत्केरीको साथमा उपाध्यक्ष कार्यक्रमका लागि गत वर्ष सात लाख रुपियाँ विनियोजन गरिएको प्रशासकीय अधिकृत नरेश गिरीले बताउनुभयो । यस आर्थिक वर्षका  लागि पनि कार्यक्रमलाई निरन्तरता दिएको उहाँको भनाइ छ । यस कार्यक्रमले पोषणमा थप सुधार ल्याउने, गर्भावस्थामा नियमित चेकजाँच गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि थप टेवा पुग्ने गिरीले दाबी गर्नुभयो ।