• १४ साउन २०८१, सोमबार

प्रदेश सभा बैठक स्थगित

blog

प्रकाशविक्रम शाह
धनगढी, साउन १४ गते ।
 सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठक स्थगित भएको छ । सरकारका मुख्यमन्त्री र मन्त्री बैठकमा अनुपस्थित नभएपछि स्थगित भएको हो ।

सोमबार दिउँसो २ बजे आह्वान गरिएको बैठकमा सरकारको प्रतिनिधि उपस्थित नभएपछि सभामुख भीमबहादुर भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको बताउनुभयो ।

सभामुख भण्डारीले सभाको बैठकमा नियम पढेर सुनाउँदै अनिश्चितका लागि बैठक स्थगित भएको जानकारी गराउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘बैठक सञ्चालन गर्न मन्त्रीको उपस्थिति अनिवार्य हुन्छ, मन्त्री उपस्थित नरहेकाले प्रदेश सभाको पूर्वनिर्धारित कार्यसूचि बमोजिमको कारबाही अगाडि बढाउन सकिँदैन ।’’

सोही क्रममा उहाँले पूर्वनिर्धारित कार्यसूचिमा उल्लेखित कार्यक्रमहरू बैठकको कार्यसूचीबाट हटाएको जानकारी दिनुभयो ।

सरकारलाई अध्यादेशमार्फत बजेट ल्याउन नदिने गरेर विपक्षी दल नेकपा (एमाले) र नेपाली कांग्रेसको माग अनुसार प्रदेश प्रमुखले प्रदेश सभाको विशेष अधिवेशन बोलाएको भन्दै प्रदेश सरकारले प्रदेश सभा बैठकमा अनुपस्थिति जनाउने रणनीति लिएको छ ।

आजको बैठकको कार्यसूचिमा शून्य समयमा असारमा भएको भीषण वर्षाले पुर्‍याएको क्षतिका विषयमा छलफल हुने र राहत तथा उद्धारका लागि सरकारलाई निर्देशन दिन विशेष प्रस्तावलाई सभामुखले निर्माणार्थ पेस गर्ने कार्यसूचि रहेको थियो ।

सङ्घीय सरकारमा फेरबदल आएपछि नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता, मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा पर्नुभएको छ ।

उहाँलाई दिएको समर्थन एमाले फिर्ता लिएको छ । एमालेले समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री सोडारीले साउन १८ गते विश्वासको मत लिने वा राजीनामा दिनुपर्ने हुन्छ ।