• १४ साउन २०८१, सोमबार

विशेष समिति सरकारका लागि मार्गनिर्देशक : गृहमन्त्री लेखक

blog

काठमाडौँ, साउन १४ गते । गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताउनुभएको छ । 

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको भवनमा आज बसेको समितिको बैठकमा गृहमन्त्री लेखकले सहकारीको समस्याको दिगो समाधानका पक्षमा सरकार रहेको स्पष्ट पार्नुभयो । “सहकारी समस्या समाधानको विषय सरकारले प्राथमिकतामा राखेको छ । यसका लागि सरोकारवालसँग छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने विश्वास लिएको छु ।” समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

देश–विदेशमा फरार रहेका सहकारीको रकम अपचलन र हिनामिनाका आरोपीलाई यथाशीघ्र पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन समितिले गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएको हो । छानबिन समितिका संयोजक सूर्यबहादुर थापा क्षेत्रीले सहकारीसम्बन्धी मुद्दामा जेल चलान भएकाहरूको बयान लिन सहजीकरण गरिदिन गृहमन्त्री लेखक समक्ष आग्रह गर्नुभयो । 

सहकारीको बचत रकम हिनामिना गरी फरार भएकालाई पक्राउ गर्न आवश्यक प्रक्रिया थालिएको गृहमन्त्री लेखकले जवाफ दिनुभयो । सहकारी बचत रकम हिनामिनाको आरोपमा पक्राउ गरेर जेलमा राखिएकाको बयानका लागि गृह प्रशासनले सहजीकरण गर्ने उहाँले बताउनुभयो । 

बैठकमा गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर पनि सहभागी हुनुहुन्थ्यो । रासस