• १४ साउन २०८१, सोमबार

गोलान हाइट्समा रकेट आक्रमणः १२ बालबालिकाको मृत्यु

blog

इजरायल, साउन १४ गते । इजरायली–नियन्त्रित गोलान हाइट्सस्थित माजदल शाम्सको एक फुटबल पिचमा रकेट आक्रमण हुँदा १२ जना बालबालिकाको मृत्यु भएको छ । तर सो घटनामा लेबनानी सिया लडाकु समूहले संलग्नता अस्वीकार गरेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहले यस आक्रमणको ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता ड्यानियल हगारीले हमासले अक्टोबर ७ मा गरेको हमलापछि सर्वसाधारणमाथि भएको सबैभन्दा ठुलो आक्रमण भएको जानकारी दिनुभयो ।

हेजबुल्लाह यस प्रकोपको पछाडि रहेको इजरायलको आरोप छ । इजरायली सेना र सुरक्षा अधिकारीहरूले रक्षामन्त्री योभ गलान्टलाई हिजबुल्लाहविरुद्ध कारबाहीका लागि विभिन्न विकल्पहरू प्रस्तुत गरेका छन् । इजरायलका राष्ट्रपति इसाक हर्जोगले रकेट आक्रमणलाई हृदयविदारक बताउनुभयो ।

रकेटले माजदल शाम्सको फुटबल पिचमा प्रहार गरेको थियो । जसमा करिब ३० जना घाइते भएका थिए । इजरायलको आपत्कालीन सेवा म्यागेन डेभिड एडोमले घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल