• १४ साउन २०८१, सोमबार

बाढीपहिरो विस्थापित दुई वर्षदेखि छिमेकीको घरमा

blog

छायाँनाथ रारा नगरपालिका–६ कोटीला गाउँका गान्टो ऐडीको २०७९ साल असोज २१ गते बाढी पहिरोले भत्काएको घर । तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी

मुगु, साउन १४ गते । गत ०७९ सालको असोज महिनाको तेस्रो साता भारी वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गएको बाढी पहिरोले सयौँ परिवार विस्थापित भए । तर विस्थापित भएको २४ महिना पुग्दा पनि पीडितको व्यवस्थापन हुन सकेको छैन ।

सङ्घीय सरकारको निर्णय अनुसार कर्णालीका जिल्ला लगायत मुगु जिल्लालाई पनि बाढी पहिरो संकटक्षेत्र घोषणा गरिएतापनि बाढी पीडितसम्म राहत रकम नआइपुग्दा पीडित अहिलेसम्म छिमेकीको घर मुनी बस्दै आएका छन् ।

बाढी पहिरोले जिल्लाको छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका १ हजार ३ सय घर पूर्ण तथा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले सङ्घीय सरकारको निर्णय अनुसार मुगु जिल्लालाई पनि संकटक्षेत्र घोषणा गरेअनुसार जिल्लाको  छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका त्यसैगरी सोरु गाउँपालिकालाई पूर्ण र आंशिक क्षति भएका घरको विवरण यथासक्दो विवरण जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराइदिनुभनि पत्राचार गरेको धरैपटक भयो तर यहाँका स्थानीय निकायले निज पीडितको क्षति विवरण उपलब्ध नगाइदिँदा बाढी पीडितको लगत सम्पादन गर्न कठिनाइ भएको हो ।

यता खत्याड गाउँ पालिकाका अध्यक्ष अज बहादुर (अमरधोज) शाहीका अनुसार जिल्लाका बाढी पीडितलाई केन्द्रीय सरकारले कर्णालीको मुगुलाई बाढी सङ्कट क्षेत्र घोषणा गरेको मलाइ नाटक जस्तो लाग्यो । राष्ट्रिय विपद् प्राधिकरणको कार्यतालिका अनुसार पुनः  प्राविधिकको डिजिटल (यमआइसी) डाटाको मूल्याङ्कन कार्यान्वयन अनुसार बाढी पीडित यकिन गरी राष्ट्रिय विपद् प्राधिकरणलाई सिफारिस गरेको महिनौँ बितिसक्दा पनि सम्बन्धित निकायले बाढी पीडितलाई राहत दिन सकेको छैन ।

खत्याडका बाढी पीडितलाई केन्द्रीय र प्रदेश सरकारले रहात नदिँदा केही पीडितले आफन्तसँग त्रृण लिएर सानोतिनो घर निर्माण गरी बसेका छन् । आर्थिक अभावका कारणले केही बाढी पीडित समुदाय भने छिमेकी जिल्ला भारतमा परिवार सहित रोजगारीका लागि उतै गएको उहाँ बताउनुहुन्छ । सरकारले जनतालाई यस्ता झुट्टा अभिव्यक्ति दिने हुटहुटीका नाराले समुदायलाई राहतको महसुस नभएको उहाँको सुझाव छ ।

छायाँनाथ रारा नगरपालिका ६ का कोटिला गाउँका गान्टो ऐडीका अनुसार “बाढी पहिरोले घर नै भत्काएपछि बस्ने ठाउँ नभएपछि पालमा ओत लागेर बस्दा चिसोको कारणले बालबालिका बिरामी भएपछि अहिले छिमेकीको घरगोठमा बस्दै आएको छु ।” सरकाले हामी बाढी पीडितलाई अनुदानमा घरनिर्माण गरिदिने छ भनी आशैआशामा दुई वर्ष बितिसक्यो तर घर बनाउनलाई मसँग ग आर्थिक छैन, अहिले छिमेकीको घरगोठमा बालबालिका सहित आश्रय लिएर बसेको उहाँले दुखेसो पोख्नु भयो ।

यस्तै, छायाँनाथ रारा नगरपालिका-८ का कृष्ण बहादुर रावल सम्बन्धित निकायले बाढी पहिरो पीडितलाई न्याय नदिएको जस्तो महसुस भएको बताउनुहुन्छ । "बाढी पहिरोले झ्यारी गाउँको बस्तिनै पालमा ओत लागेर बस्नुपर्ने बाध्यता रहेको छ, बच्चा र वृद्धवृद्धामा चिसोले स्वास्थ्य समस्या देखिएको छ तर सम्बन्धित निकायको चासो छैन," उहाँले भन्नुभयो ।