• १४ साउन २०८१, सोमबार

पहिरोमा पुरिएको अवस्थामा शव फेला

blog

गुणबहादुर रोका 

सुलीकोट, साउन १४ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङलास्थित रेसेगाउँमा एकै घरका ३ जनासहित पहिरोमा पुरिएका ५ जनामध्ये १ जनाको शव सोमबार दिउँसो १२ः४५ बजे भेटिएको छ । 

धार्चे गाउँपालिका–५ रेसे गाउँमा बस्ने जीतबहादुर गुरुङका ६० वर्षीय बुबा सुलाल कान्छा गुरुङको घरभन्दा मुनि २० देखि २५ मिटर तल पुरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार आइतबार बिहान ३ बजे गएको पहिरो परी बेपत्ता भएकाको खोजी गर्नेक्रममा नेपाली सेना, नेपाल प्रहरी, स्थानीय र जनप्रतिनिधिसहितको टोलीले घर नजिकको पहिरोमा ६० वर्षीय गुरुङको शव भेटिएको हो । अन्य ४ जना बेपत्ताको खोजी कार्य तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पहिरोले एक घर र गोठ बगाउँदा धार्चे गाउँपालिका–५ रेसेगाउँमा बस्ने ३७ वर्षीय जीतबहादुर गुरुङको श्रीमती ३५ वर्षीय कान्छी गुरुङ, जीतबहादुर गुरुङको बुबा ६० वर्षीय सुलाल कान्छा गुरुङ र सोही ठाउँ बस्ने कामदार ३३ वर्षीय रमेश गुरुङ, वतन नखुलेका सोही फार्ममा ट्याक्टर चालकको रूपमा काम गर्ने ३४ वर्षीय रमेश परियार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।