• १४ साउन २०८१, सोमबार

खेलकुद स्थलमा भागदौडपछि नौ जनाको मृत्यु, सबै खेल स्थगित

blog

आन्तरिक उपप्रधानमन्त्री ज्याकमेन शबानी सबै खेलकुद स्थगित भएको बारे जानकारी दिनुहुँदै ।

कंगो, साउन १४ गते । प्रजातान्त्रिक गणतन्त्र कंगोको राजधानी किन्शासामा खेलकुद स्थलमा अर्को सूचना नभएसम्मका लागि सबै गैर–खेल गतिविधि स्थगन गरिएको छ ।

मुख्य खेलकुद केन्द्र, स्टेड डेस मार्टर्समा एक कन्सर्टमा कम्तीमा नौ जनाको मृत्यु भएको एक दिनपछि आन्तरिक उपप्रधानमन्त्री ज्याकमेन शबानीले सबै खेल स्थगित गरेको बताउनुभएको हो ।

भागदौडबाट नौ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको उहाँले बताउनुभयो । घाइतेको उपचार भइरहेको उहाँको भनाइ छ ।

शनिबार किन्शासाको स्टेड डे मार्टर्समा सङ्गीतकार माइक कालाम्बाईको कन्सर्टको क्रममा भागदौड भएको थियो । जहाँ एक गर्भवती महिला र बच्चासहित कम्तीमा नौ जनाको मृत्यु भएको थियो ।

८० हजार सिटको क्षमता भएको देशको सबैभन्दा ठुलो मानिने स्टेडियममा कन्सर्ट, सांस्कृतिक कार्यक्रम र राजनीतिक बैठकहरू हुने गर्दछन् ।

अक्टोबर २०२२ मा कङ्गोली सङ्गीतकार फली इपुपाको कन्सर्टको क्रममा स्टेड डे मार्टर्समा पनि भागदौडमा दुई प्रहरी अधिकारीसहित ११ जनाको मृत्यु भएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल