• १४ साउन २०८१, सोमबार

पहिरोले चार घर पुरिए, बस्ती जोखिममा

blog

सार्कीबारा बस्तीमा गएको पहिरो । तस्बिर सहयोगः नवराज मल्ल

राजु लामिछाने

रुकुमपश्चिम, साउन १४ गते । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –१२ को सार्किबारा बस्तीका चार घर पहिरोले पुरेको छ । लगातार भएको वर्षाका कारण गएको पहिरोले आइतबार राति चार घरमा क्षति भएको हो । 

गिजागाड खोलामा आएको बाढीका कारण सार्कीबारामा पहिरो गएको थियो । पहिरोमा परेर चार घर भत्किएको वडा अध्यक्ष खम्मे कुसारीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय नन्दे सार्की, अलबहादुर सार्की, मनबहादुर सार्कीको र अर्जुन सार्कीको घर पहिरोमा परेर भत्किएका छन् । 

लगातारको बर्षाका कारण बस्ती नै जोखिममा परेपछि आइतबार बेलुका जोखिममा रहेका १० घरपरिवारलाई वडा कार्यालयमा सारिएको छ । वडा अध्यक्ष कुसारीका अनुसार बेलैमा बस्तीका स्थानीयलाई वडा कार्यालयमा सारिएकोेले मानवीय क्षति हुन पाएन ।  

घर पहिरोमा पुरिएपछि त्यहाँभित्र रहेका अन्नपात लगायतका सामग्रीहरु पुरिएका छन् । गिजागाड खोलाको सतह बढेकाले पल्लोपट्टि रहेको सो बस्तीमा जान नसकिएको वडा अध्यक्ष कुसारीले बताउनुभयो । क्षतिको विवरण सङ्कलन गर्न नसकिएको उहाँको भनाइ छ ।  

सो बस्ती नै जोखिममा छ । गिजागाड खोला र उक्त पहिरो गएको स्थानका १० घर उच्च जोखिममा रहेको र पहिरोभन्दा माथिल्लो भागमा रहेको सम्पूर्ण बस्ती नै जोखिममा रहेको वडाध्यक्ष कुसारीले बताउनुभयो ।  

मनसुन सुरु भए यता यस वडामा चार जनाको मृत्यु भएको छ । गत साउन १ गते बिहान बाढीले टहरा पुरिँदा तीन बालिकाको मृत्यु भएको थियो । साउन ३ गते खोलामा आएको बाढीले बगाएर एक पुरुषको मृत्यु भएको थियो ।