• १४ साउन २०८१, सोमबार

शिवालयमा धार्मिक पुस्तकालय स्थापना

blog

गलेश्वर शिवालयमा स्थापना भएको धार्मिक पुस्तकालय । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, साउन १४ गते । बेनी नगरपालिका –९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर क्षेत्रभित्र चन्दा सहयोग जुटाएर धार्मिक पुस्तकालय स्थापना गरिएको छ । 

गलेश्वरमा आयोजना हुने धार्मिक कार्य तथा अनुष्ठानमा पुस्तकको अभाव नहोस् भनेर गलेश्वर शिवालय क्षेत्र विकास कोषले सहयोग जुटाएर पुस्तकालय स्थापना गरेको हो । 

पुस्तकालय स्थापना भएपछि गलेश्वर दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनलाई सहज भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । भारतको वनारसमा प्रकाशन भएका सक्कली पुस्तकहरु खरिद गरी पुस्तकालयमा राखिएको उहाँले बताउनुभयो ।  

उहाँका अनुसार पुस्तकालयमा १८ पुराण, उपपुराण, चार वेद, भागवतगीता, उपनिषद्, धर्मसिन्धु, निर्णयसिन्धु लगायतका पाँचसय धार्मिक पुस्तक राखिएका छन्  । बाहिरी जिल्लामा समेत आयोजना हुने धार्मिक काममा पुस्तकको अभाव भएमा पुस्तकहरु लैजान सकिने व्यवस्था मिलाइएको अध्यक्ष रेग्मीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘पुस्तकालयले स्थापना भएपछि गलेश्वरमा हुने धार्मिक कार्यमा पुस्तकको अभाव हुने समस्या हटेको छ । आगामी दिनमा अझ पुस्तकहरु सङ्कलन गर्ने उद्देश्य छ ।’’ 

मुक्तिनाथ प्रवेशद्वारसमेत रहेको गलेश्वरमा आउने भक्तजनले पुस्तकालयमा बसेर धार्मिक पुस्तक अध्ययन गरेर जाने गरेको कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताउनुभयो । 

पुस्तकालय स्थापनाका लागि धवलागिरी गाउँपालिका –७ ताकम निवासी हाल अमेरिकामा बस्नुहुने रघुनाथ सुवेदीले ४ लाख ४५ हजार र अन्य सहयोग दाताबाट गरी ६ लाख ३० हजार रुपियाँ आर्थिक सहयोग प्राप्त भएको अध्यक्ष रेग्मीले बताउनुभयो ।  पुस्तकालयको संरचना बनाउन ३ लाख ४५ हजार र २ लाखको भारतबाट पुस्तक खरिद गरिएको उहाँले बताउनुभयो ।