• १४ साउन २०८१, सोमबार

वनको अतिक्रमित जमिन खाली गराइयो

blog

जोवहा प्राकृतिक सामुदायिक वन क्षेत्रको अतिव्रmमित जग्गा खाली गराइँदै । तस्बिर : जीवछ यादव

जीवछ यादव 

लहान, साउन १४ गते  । सिराहाको नरहा गाउँपालिका–३ स्थित जोवहा प्राकृतिक सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरी बनाएको घर टहरा भत्काएर दुई हेक्टर जमिन खाली गराएको डिभिजन वन कार्यालय लहानले जनाएको छ । 

डिभिजन वन कार्यालय लहानका प्रमुख सुजितकुमार झाका अनुसार पटक पटक सार्वजनिक सूचना जारी गरेर खाली गराउन दिएको समयसीमा सकिएपछि स्थानीयवासीको सहयोगमा बल प्रयोग गरी खाली गराएको हो । सो क्षेत्रमा राजनीतिक संरक्षणमा नरेन्द्र खड्का, रामकुमार राई, अनितालगायत आठ जनाले पक्की तथा फुसको टहरा बनाएर मदिरा पसल सञ्चालन गर्दै आइरहेका थिए । 

मधेश प्रदेशका वन तथा वातावरणमन्त्री त्रिभुवन साह र डिभिजन कार्यालय प्रमुख झाले वन क्षेत्रको संरक्षण गर्न बनेको ऐन कानुनमा टेकेर देखाउनु भएको साहसलाई मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयका तर्फबाट उच्च सराहना गर्दै बाँकी रहेको अतिक्रमित वन क्षेत्रको जग्गा खाली गराउन निर्देशन दिनुभयो ।

सामुदायिक वन क्षेत्रमा रहेको मारुती सिमेन्ट र शौर्या सिमेन्ट उद्योगले सुकुमवासीले पाएको जग्गा सुकुमवासीबाट लिएर सिमेन्ट उत्पादन गरिरहेकाले यस क्षेत्रबाट अतिक्रमण हटाउनसमेत डिभिजन वन कार्यालयले गृहकार्य गरिरहेको डिभिजन वन कार्यालयले जनाएको छ । 

खुटी सरे गागन खोलामा भएको वन क्षेत्रभित्र अवैधानिक गिट्टी बालुवा उत्खनन कार्य रोक्न र वन क्षेत्रको संरक्षणका लागि काम गरिरहेको डिभिजनको सक्रियताले राम्रो भइरहेको जिल्ला समन्वय समितिका प्रमुख दिनेशकुमार महतोले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अरू कार्यालय प्रमुखले राजनीतिक दलको इसारामा चल्ने, कुनै खासै गतिविधि नगरेर समय काट्ने गरेका थिए । कार्यालय प्रमुख भएर सुजित आएपछि दिनहुँ अवैध कार्य रोक्न सक्रियता बढाइरहनु भएको छ । जोवहा वन क्षेत्र राजनीतिक दलको संरक्षणमा अतिक्रमण भएकै थियो । खाली गराउन कार्यालय प्रमुख झाले देखाउनु भएको इच्छाशक्तिको हामी कदर गर्छौं ।”

गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी ४२ हेक्टर वन क्षेत्रका अतिक्रमित जग्गा खाली गराएको प्रमुख झाले जानकारी दिनुभयो ।

आव २०८०/८१ मा कल्याणपुर, कर्जन्हा, गोलबजार र धनगढीमाई नगरपालिकामा गरी क्रमशः ११ हेक्टर, १५ हेक्टर, तीन हेक्टर र १२ हेक्टर गरी ४० हेक्टर र यस आव २०८१/८२ को सुरुवातमा दुई हेक्टर वन अतिक्रमण खाली गराएको हो । सिराहामा रहेको २७ हजार ९०२ हेक्टर वन क्षेत्रमध्ये ९९२ हेक्टर वन क्षेत्र अतिक्रमित रहेको छ ।