• १४ साउन २०८१, सोमबार

सडक अवरुद्ध हुँदा पुल निर्माण ठप्प

blog

बाजुरा समाचारदाता

बाजुरा, साउन १४ गते  । बुढीगङ्गा नगरपालिकाको बेतालमाण्डौ, झाली हुँदै खप्तडछेडेदहको पुडाबाउला–टुनीसैन ग्रामीण सडक अवरुद्ध हुँदा पुल निर्माणको काम पनि ठप्प भएको छ । सडक अवरुद्ध हुँदा खप्तड छेडेदह गाउँपालिका–३ र बुढीगङ्गा नगरपालिका–४ को बिचबाट बग्ने बार्जुगाड खोलाको पुल निर्माणका लागि चाहिने सामग्री ढुवानीमा समस्या भएको छ । 

ग्रामीण सडक अवरुद्ध भएपछि पुल निर्माणको काम रोकिएको ठेकेदार कम्पनी एडभेन्चर साउद जेभी कन्स्ट्रक्सनले जनाएको छ । फागुनयता पुल निर्माणको काम दु्रत गतिमा भइरहेको थियो । असार दोस्रो सातादेखि सडक अवरुद्ध हुँदा सामान ढुवानी गर्न सकिएको छैन । साउद कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि ईश्वर साउदले भन्नुभयो, “बर्खाको समयमा ज्यामी पाउन पनि समस्या थियो । कहाँ कहाँबाट ज्यामी ल्याएर काम सुरु भइरहेको थियो तर बाटो बन्द भएका कारण सामान ढुवानी गर्न नसकेपछि काम ठप्प भयो ।”

गिट्टी ल्याएर बेतालमाण्डौमा राखेको तर अहिलेसम्म बाटो नखुलेपछि पुल निर्माणको काममा समस्या भएको साउदले बताउनुभयो । बेतालमाण्डौदेखि त्रिशक्तिसम्मको सडक निर्माणका लागि बुढीगङ्गा नगरपालिकाले आठ करोड रुपियाँको लागतमा बगलामुखी कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको छ । 

त्यस्तै झालीदेखि खप्तडछेडेदह गाउँपालिकासम्मको ग्रामीण सडक निर्माणको काम प्रत्येक वर्षमा स्थानीय तहले नै मर्मत गर्दै आएका छन् । सडक कसैले पनि मर्मत नगरेपछि अहिले देउलसैन–बाइल–सिमलकोट–झाली–पुडावाउँला टुनिसैनलगायतका स्थानीयलाई दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न समस्या भएको स्थानीय खडक विष्टले बताउनुभयो । 

बेतालमाण्डौ–त्रिशक्ति सडकको दोस्रो मोडमा काम भइरहेका बेलामा केही स्थानीयले काममा बाधा पु¥याएकाले पनि सडक निर्माणको काम रोकिएको बङ्गलामुखी कन्स्ट्रक्सनका साइड इन्चार्ज हिमशिखर डाँगीले बताउनुभयो ।

बेतालमाण्डौको दोस्रो मोडमा गएको पहिरोले बाटो बन्द हुँदा स्थानीयलाई आउजाउमा समस्या भएको थियो । सो सडक खुलाएर चाँडो मर्मत गर्ने तयारी भइरहेको डाँगीले बताउनुभयो । बर्खाको समय काम गर्न समस्या भएको छ । 

सडकका कारण विद्यालय जोखिममा

सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापर्बाहीका कारण बुढीगङ्गा नगरपालिका–२, बह्रमतोलास्थित सानकाटियमा रहेको वसन्त आधारभूत विद्यालय पहिरोको उच्च जोखिममा रहेको छ ।

सडकको काम समयमै पूरा नगरेका कारण विद्यालयमुनि पहिरो गएपछि विद्यालय जोखिममा रहेको वसन्त आधारभूत विद्यालयका प्रधानाध्यापक बहादुर थापाले बताउनुभयो । विद्यालयमुनिबाट सडक निर्माण गरिएको छ । 

बल्दे–आटीचौर सडक वसन्त आधारभूत विद्यालयमुनि रहेको छ । दुई वर्षपहिला नै निर्माण गरिसक्नुपर्ने सडक अहिलेसम्म पूरा हुन सकेको छैन । सडक निर्माणमा ढिलाइ भएको समाचार आएपछि काम गर्ने र त्यसपछि ठेकेदार नै गायब हुने गरेकाले सडकले समस्या निम्त्याएको बताइन्छ । 

बाहिर पानी परेका बेला विद्यार्थी पनि भित्र राख्नुपर्ने हुन्छ । विद्यालयको मुनि पहिरो छ । कति बेला विद्यालय पहिरोमा पर्ने हो भन्ने डरले विद्यार्थीलाई भित्र राखेर पढाउन निकै समस्या हुने गरेको प्रधानाध्यापक थापाले बताउनुभयो ।

विसं २०७९ चैत मसान्तसम्म काम पूरा गर्ने गरेर २०७७ असारमा जयदेवी एसएस निर्माण सेवाले सेरा आटीचौर अन्तर्गत पर्ने बल्देदेखि धुरालसैनसम्मको पाँच किलोमिटर छ सय मिटर सडक निर्माणको जिम्मा लिएको थियो ।

विसं २०७९ चैतसम्म सडक स्तरोन्नति गर्ने गरी कामको जिम्मा लिने ठेकेदारको लापर्बाहीले सडक निर्माणको काम छिटो नहँुदा आटीचौर, डोगडीलगायतका स्थानीयवासीलाई दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छेडेदह गाउँपालिकाका स्थानीय हर्कबहादुर बुढाले बताउनुभयो ।

बर्खाको समयमा लगातार पानी परेका कारण सडक निर्माणमा सकस भएको निर्माण कम्पनी अनब जयदेवी एसएस प्रालिका प्रतिनिधि वीरेन्द्र शाहीले बताउनुभयो । ठेकेदार शाहीले बल्देदेखि धुरालसैनसम्मको पाँच किलोमिटर छ सय मिटर सडक असारसम्म कालोपत्रे गर्ने गरी २०७७ असारमा ११ करोड रुपियाँको लागतमा जिम्मा लिएको पूर्वाधार विकास कार्यालय अछामका प्रमुख रुद्धबहादुर बोगटीले बताउनुभयो ।