• १३ साउन २०८१, आइतबार

गोरखापत्र र त्रिविबिच प्राज्ञिक सहकार्य गरिने

blog

गोरखापत्र दैनिकको पहिलो अङ्क उपहार स्वरूप त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागलाई हस्तान्तरण गरिँदै । तस्बिर : विकास द्वारे

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १३ गते । गौरवमय इतिहास बोकेका दुई प्राज्ञिक संस्था गोरखापत्र संस्थान र त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार विभागबिच प्राज्ञिक विषयमा सहकार्य गरिने भएको छ ।   

दुई संस्थाबिच विभिन्न विषयमा गहन अध्ययन अनुसन्धान मिलेर गर्ने विषयमा सैद्धान्तिक सहमति गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ । संस्थानमा आइतबार भएको दुई पक्षीय छलफल तथा गोरखापत्रको पहिलो अङ्क हस्तान्तरण गर्न आयोजित कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरिएको हो ।

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रका बारेमा थप अध्ययन र अनुसन्धान गराउन चाहन्छौँ भन्दै उहाँले त्यसकालागि फेलोसिप सहयोग गर्ने जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयसँग समन्वय र सहकार्य गरी काम गर्न पाउनु संस्थानका लागि खुसीको कुरा भएको बताउनुभयो । 

त्रिविका लागि संस्थानको तर्फबाट केही योगदान गर्ने अवसर मिले संस्थान जहिले तयार हुने उहाँको भनाइ छ । संस्थानले आउने दिनमा प्राज्ञिक जर्नल प्रकाशनको तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । 

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. कुन्दन अर्यालले इतिहास बोकेको गोरखापत्र संस्थानसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । उहाँले त्रिविमा पत्रकारिता अध्ययन गर्ने विद्यार्थीलाई गोरखापत्रको विभिन्न आयामका विषयमा अध्ययन अनुसन्धान गराउने प्रतिबद्धता जनाउनुभयो । 


गोरखापत्र प्रकाशन सुरुभएको वैशाख २४ गते त्रिविको तर्फबाट हरेक वर्ष भव्य कार्यक्रम गरी पत्रकारिताबारेमा प्राज्ञिक छलफल गराउने पनि उहाँले बताउनुभयो । गोरखापत्रका विषयमा अध्ययन अनुसन्धान भएमा त्यसलाई पुस्तकाकार रूप दिन सके प्राज्ञिक अध्ययनका लागि सो पुस्तक उपयोगी हुने धारणा राख्नुभयो ।  

गोरखापत्र संस्थानका निमित्त महाप्रबन्धक यमप्रसाद कँडेलले संस्थान र त्रिविबिच घनिष्ठ सम्बन्ध हुनुपर्ने र त्यसकालागि आफूहरू तयार रहेको बताउनुभयो । दुई संस्थाबिचको समन्वय दीर्घकालीन होस् भन्ने हेतुले सहकार्य गर्ने प्रक्रिया अघि बढेको उहाँले जानकारी गराउनुभयो । 

गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईले गोरखापत्र आफैमा इतिहास भएको र जेठो पत्रिकाको भूमिका निर्वाह गरिरहेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयसँग गोरखापत्रको सहकार्यले दुई पुराना संस्थालाई जोड्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा महाप्रबन्धक ऐरीले पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. अर्याललाई गोरखापत्रको पहिलो अङ्क फ्रेमिङ गरेर उपहार स्वरूप हस्तान्तरण गर्नुभयो । विभागको नवनिर्मित क्यामेरा भवनमा सो फ्रेमिङसहितको अङ्क राखिने जानकारी गराउनुभयो ।

हस्तान्तरण कार्यक्रममा त्रिविका प्राध्यापकद्वय डा. देवराज अर्याल, डा. घमराज लुइँटेल, संस्थानका निमित्त प्रशासन विभाग प्रमुख भगीरथ बस्नेत, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक, भीमसेन थपलिया, फोटोग्राफी शाखा प्रमुख रामप्रसाद हुमागाईँ, गोरखापत्र अनलाइन प्रकाशनका निमित्त सम्पादक नारदमुनि गौतमलगायतको सहभागिता थियो ।