• १३ साउन २०८१, आइतबार

अपाङ्गता व्यक्तिका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्रभावकारी बन्दै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १३ गते । अपाङ्गता भएका व्यक्तिका प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी सचेतनात्मक कार्यक्रमले यस क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेको छ । परिवार नियोजन सङ्घले सन् २०१९ देखि अपाङ्गता भएका व्यक्तिहरूका लागि लक्षित गरी प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी सचेतनात्मक कार्यक्रमका विविध प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई नै पियर एजुकेटर (साथी शिक्षक)को तालिम दिएर समुदायमा जानका लागि प्रेरित गरेपछि अपाङ्गता क्षेत्रमा परिवर्तन देखिन थालेको हो । 

पियर एजुकेटरका रूपमा बुढानीलकण्ठ नगरपालिकामा काम गरिरहनुभएका अम्बिका कुइँकेलले भन्नुभयो, “विगतमा  अपाङ्गता भएका व्यक्तिका लागि विवाह गर्नु, शिशु जन्माउने प्रक्रियाकै आवश्यकता नपर्ने भन्ने सोचले अपाङ्गता भएका व्यक्तिलाई बेवास्ता गर्ने प्रचलन रहेकोमा आफूले पियर एजुकेटरको रूपमा काम गरेपछि यस क्षेत्रका धेरै व्यक्तिले यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या भन्ने गरेका छन् ।”

उहाँले अपाङ्गता भएका सबै व्यक्तिलाई अन्य व्यक्ति सरह सबै चाहनाको साथै यौन चाहना हुनु, नपाएपछि र परिवारका सदस्यलाई खुलेर भन्न नसकेपछि उहाँहरूले यौन रोग वा विविध समस्याको सामना गर्नुपरेको थियो भने पियर एजुकेटरहरुले सल्लाह र परिवार नियोजनको साधन प्रयोग गर्न सुझाव दिँदै त्यसबारे बुझाउन थालेपछि आफ्नो समस्या खुलेर भन्ने र आवश्यक स्वास्थ्य उपचारका लागि अस्पताललगायत स्वास्थ्य संस्थामा जान थालेको बताउनुभयो ।

त्यसै गरी अर्का पियर एजुकेटर सन्जिया श्रेष्ठले भन्नुभयो, “सामुदायिक स्कुल, समाजका विभिन्न समूह र संस्थाहरूमा गएर अपाङ्गता भएका व्यक्ति र उहाँहरूको सहयोगीको भूमिकामा काम गर्नुहुने परिवारका सदस्यलाई महिनावारी स्वच्छताको बारेमा सिकाउने, अपाङ्गता भएका व्यक्तिलाई पनि प्रेम गर्न, विवाह गर्न र सन्तान जन्माउने चाहना हुन्छ, त्यसबाट उहाँहरूलाई वञ्चित नगरी परिवार नियोजनका साधन सहयोग गर्न सिकाएपछि यस क्षेत्रका व्यक्तिहरू लाभान्वित हुनुभएको छ ।”

उहाँले नेपाल परिवार नियोजन सङ्घ नै आर्थिक समस्यामा पर्ने खतरा बढेकाले सरकारले नै सङ्घले गरिरहेको स्वास्थ्यसम्बन्धी गतिविधिलाई अगाडि बढाउनुपर्ने सुझाव दिँदै त्यसो नगरी आर्थिक कारणले सङ्घले काम गर्न नसके अपाङ्गता भएका व्यक्तिहरू, सीमान्तकृत वर्ग र आर्थिकरुपमा विपन्न वर्गले नै स्वास्थ्य सेवा नपाउने  बताउनुभयो । सो अवसरमा नेपाल परिवार नियोजन सङ्घका शाखा प्रबन्धक शरद अर्यालले सङ्घका गतिविधि, लक्ष्यबारे जानकारी दिँदै सङ्घमार्फत अपाङ्गतामैत्री सेवा प्रवाह भइरहेको जानकारी दिनुभयो ।

उहाँले गत वर्ष चार हजार तीन सय नौ जना अपाङ्गता भएका व्यक्तिले स्वास्थ्य सेवा लिनुभएको बताउनुभयो । सो अवसरमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको अवस्थासम्बन्धी अनुसन्धान विज्ञ एवम् प्राध्यापक अनुप अधिकारीले नेपालमा अपाङ्गता भएका व्यक्तिसम्बन्धी तर्जुमा गरिएको राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले अपाङ्गता भएका व्यक्तिको विविध अधिकारसहित यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको प्रत्याभूति गरे पनि व्यवहारमा लागू हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा पियर एजुकेटर गङ्गा प्रजापति र सुनिता दुवालले पनि अपाङ्गता भएका व्यक्तिका लागि यौन तथा प्रजनन् स्वास्थ्य अधिकारबारे बुझाउन थालेपछि समुदायमा आएको सकारात्मक प्रभावका बारेमा आ-आफ्नो अनुभव सुनाउनुभयो ।