• १३ साउन २०८१, आइतबार

संविधान संशोधनको औचित्यबारे स्पष्ट पार्नुपर्छ : सांसद शाही

blog

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाही ।

काठमाडौँ, साउन १३ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले संविधान संशोधनको औचित्यबारे स्पष्ट पार्न सरकारसँग माग गर्नुभएको छ । 

वर्तमान सत्ता गठबन्धनले संविधान संशोधनको ‘एजेन्डा’ उठाए पनि त्यसको आवश्यकताको पुष्टि गर्न नसकेको उहाँले उल्लेख गर्नुभयो । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद शाहीले संविधानले दिगो विकासको आवश्यकता पूर्ति गर्न नरोकेको उल्लेख गर्दै दलहरूले आफ्नो गल्ती ढाकछोप गर्न विभिन्न बहाना बनाइरहेको आरोप लगाउनुभयो ।

“वर्तमान सरकार गठबन्धनको मुख्य उद्देश्य संविधान संशोधन भनिएको छ, तर संविधान संशोधनको औचित्य के हो ? के अहिलेको संविधानले विकास नगर भनेको छ ? देशको दिगो विकासका लागि संविधानको कुरा कुन धाराले रोकेको छ ?”, सांसद शाहीले प्रश्न गर्नुभयो । कुनै पनि दललाई स्पष्ट बहुमत ल्याउन संविधानले नरोकेको उहाँको भनाइ थियो । दिगो विकासका लागि सरकारले प्राथमिकता निर्धारण गर्न नसकेको सांसद शाहीको आरोप थियो । 

राज्यलाई ऋण थुपारेर अनावश्यक संरचना बनाएर आर्थिक दायित्व थप्ने र अनुत्पादक क्षेत्रमा जथाभाबी लगानी गर्ने प्रवृत्ति बढिरहेको भन्दै उहाँले सरकारले बजेट छुटाउने विभिन्न सडक र भवनको आवश्यकता के हो भनेर विश्लेषण गरिनुपर्ने बताउनुभयो । बिचौलियाको चलखेलमा सरकारको वार्षिक बजेटमा योजना तथा कार्यक्रम पर्ने गरेको उहाँले आरोप लगाउनुभयो । अहिलेको मुख्य आवश्यकता सुशासन कायम गर्नु रहेको र ठुला दलले सुशासन कायम गर्न नसके नागरिकस्तरमा समग्र दलीय प्रणालीप्रति नै वितृष्णा जाग्ने सांसद शाहीको बुझाइ छ ।

“सरकार देश र जनताका आवश्यकतासँगै जानुपर्दछ । नागरिकले मन्त्रीहरूको लामो सूची खोजेका होइनन् । देशका लागि दिगो आर्थिक विकास, सामाजिक र सुशासन हो”, उहाँले भन्नुभयो, “सरकारमा रहेका दुई ठुला दलले राम्रो काम गर्न सकेनन् भने सबै राजनीतिक दलप्रति वितृष्णा बढ्छ ।” सार्वजनिक संस्थानहरूको सम्पत्तिको दोहन भएको र भ्रष्टाचार बढेको सांसद शाहीले बताउनुभयो । त्यस्तै, विगतमा भएका कानुन विपरीतका कामलाई कारबाहीको दायरामा ल्याउनुपर्ने तथा सरकार नेताहरूको कमजोरी ढाकछोप गर्नेभन्दा पनि समग्र देशको हितमा उभिनुपर्ने धारणा राख्नुभयो । रासस