• १३ साउन २०८१, आइतबार

प्रभावकारी बन्दै 'विद्यालय नर्स सेवा'

blog

नवराज सुवेदी

नुवाकोट, साउन १३ गते । नुवाकोटको बिदुर नगरपालिका १ स्थित सामुदायिक विद्यालय त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा सञ्चालित विद्यालय नर्स सेवा प्रभावकारी बनेको छ। 

प्राथमिक उपचार अन्तर्गत सरकारद्वारा माध्यमिक तहका विद्यालयहरूलाई लक्षित गरी सञ्चालित विद्यालय नर्स सेवाका कारण विशेषगरी छात्राहरूमा त्यसको सकारात्मक प्रभाव देखिएको छ । 

सेनेटरी प्याडको लागि भेण्डिङ मेशिन सहित सञ्चालित विद्यालय नर्सका कारण महिनावारीको समयमा छात्राहरूको नियमित विद्यालय उपस्थिति रहने गरेको छ । साथै सामान्य टाउको दुखाई, रुघा, खोकी, ज्वरो र चोटपटक लागेमा बेड सहित नर्सिङ सुविधा र प्राथमिक उपचार तथा घाउ डेसिङको व्यवस्था भएकोले विद्यालयमा विद्यार्थीहरूको हाजिरी तथा कक्षा उपस्थिति नियमित हुने गरेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका नर्स निझरा तामाङले बताउनुभयो ।  

एक विद्यालय, एक नर्स’ कार्यक्रम लागू भएको एक वर्षदेखि विद्यालयमा यस्ता समस्या नभएको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द रावलते बताउनुभयो । "विद्यालयका सम्पूर्ण गतिविधिमा परिवर्तन आउनुका साथै समग्र विद्यालयको विकास भएको छ", उहाँले भन्नुभयो, "छात्रा महिनावारी भएको समयमा विद्यालय आउने छात्राको शतप्रतिशत बढ्दै गएको छ।" उहाँका अनुसार एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन भएसँगै विद्यालयका सम्पूर्ण गतिविधिमा परिवर्तन आउनुको साथै समग्र विद्यालयको प्रगति भएको छ । 

"यो कार्यक्रमले विद्यालयमा मात्र नभई सिङ्गो सकारात्मक परिवर्तन ल्याएको छ," उहाँले भन्नुभयो, "विद्यार्थीले मात्र नभई अभिभावकले पनि सरसफाइमा विशेष ध्यान दिन थालेका छन् । शौचालय गएपछि साबुनपानीले हात धुने अभ्यास भएको छ ।" कार्यक्रमले गर्दा विद्यार्थी अनियमितता पनि हटेको उहाँले बताउनुभयो । कार्यक्रम सञ्चालनमा आएसँगै विद्यालयमा, विद्यार्थीको स्वास्थ्य जाँच, प्रजनन स्वास्थ्य, हेल्थ प्रोफाइल जस्ता गतिविधि सञ्चालन भएको स्कुलका नर्स निझरा तामाङले बताउनुभयो ।  

सामान्य टाउको दुखाई, रुघा, खोकी, ज्वरो र चोटपटक लाग्दा विगतमा विद्यालय तथा कक्षा छुट्ने गरेकोमा विद्यालयमा प्राथमिक उपचारका लागि आवश्यक सामाग्री तथा औषधीमुलो र बेड सहित नर्सिङ कक्षको व्यवस्था गरिएपछि अहिले छात्र-छात्राहरू नियमित विद्यालय उपस्थिति हुने गरेका छन् । जसकाकारण विद्यार्थी तथा छात्र-छात्राकाहरुको हाजिरी र सिकाई दुवैमा मद्दत पुगेको विद्यालयले जनाएको छ ।