• १३ साउन २०८१, आइतबार

तीन ग्यालरीमा कला प्रदर्शनी जारी

blog

तस्बिर : रासस

काठमाडौँ, साउन १३ गते । काठमाडौँका विभिन्न आर्ट ग्यालरीमा चित्रकला प्रदर्शनी भइरहेका छन् । बबरमहलस्थित नेपाल कला परिषदमा कलाकार प्रियम प्रधान र उहाँको समूह मिलेर बनाएका सिर्जना प्रदर्शन गरिएका हुन् । 

उहाँको कला प्रदर्शनीको शीर्षक ‘रास लीला : द डिभाइन डान्स’ राखिएको छ । शीर्षकअनुसार कलामार्फत महाभारतमा समकालीन कथाहरू प्रस्तुत गरिएका छन् । मूर्तिकला, प्रतिस्थापन कला, चित्रकला, कपडाहरू, सङ्गीत र लघु चलचित्रका माध्यम अपनाएर महाभारतको प्राचीन दर्शन बुझाउन खोजिएको कलाकार प्रधान बताउनुहुन्छ । उहाँका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य वैदिक दर्शनका कथा र ग्रन्थ प्रयोग गरी युवा वर्गमा यसको महत्त्व जगाउनु हो । 

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले सिर्जना गरेका प्रिन्ट मेकिङ कला प्रदर्शन गरिएका छन् । जसको शीर्षक नै राखिएको छ, ‘इम्प्रिन्टस’ । ललितपुरस्थित एक्युब ग्यालरीमा भने आइतबारदेखि अमेरिकी कलाकार फिल रोविन्सनको एकल चित्रकला प्रदर्शन सुरु भएको छ । ‘नेपाल कहाँ छ ?’ शीर्षकमा उहाँले कोरेका चित्रकलामा कलाको सौन्दर्य वर्णन गर्नुका साथै अवस्था चित्रण गरिएको छ । कलाकारले नेपाल घुमेर महसुस गरेका दृश्यलाई क्यानभासमा उतार्नुभएको हो ।

ग्यालरीका प्रमुख मनिषलाल श्रेष्ठका अनुसार विदेशी कलाकारको नजरमा नेपाल कला नै कलाले भरिएको देश मानिन्छ । त्यसैले चित्रमार्फत नेपाल सुन्दरता र कला कहाँ कति छ नियाल्ने काम अमेरिकी कलाकार रोविन्सनले गर्नुभएको उहाँले बताउनुभयो । रासस