• १३ साउन २०८१, आइतबार

जहाज दुर्घटनाका मृतकको शव आफन्तले बुझेको संसद्लाई जानकारी

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे ।

काठमाडौँ, साउन १३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनामा मृत्यु भएका १८ शव आफन्तले बुझेको संसद्लाई जानकारी गराउनुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा विमान दुर्घटनाबारे जानकारी गराउँदै सो कुरा बताउनुभएको हो । यमनका एक जना नागरिकको शव व्यवस्थापनका लागि पनि नेपालमा दूतावास नभएकाले त्यसका लागि सम्पर्क र समन्वयको काम भइरहेको उहाँले बताउनुभयो । 

मन्त्री पाण्डेले सो विमान दुर्घटनाका घाइते क्याप्टेन मनिषरत्न शाक्य उपचाररत रहेको र उहाँको अवस्था खतरामुक्त रहेको बताउनुभयो । उहाँले मृतकको शव व्यवस्थापनको सम्पूर्ण खर्च सौर्य एयरलाइन्सले व्यहोरेको पनि जानकारी दिनुभयो । 

मन्त्री पाण्डेले भन्नुभयो, ‘‘हामी यतिखेर विभिन्न निकायसँग छलफलकै क्रममा छौँ । समिति बनेको छ । समितिले गर्ने आफ्नो काम छ । समितिले गर्ने काममा उसको स्वतन्त्रता, निष्पक्षता र उसको तटस्थतामा हामी कुनै पनि किसिमको हस्तक्षेप हुने रहन दिनेछैनौँ । तर सँगैमा मन्त्रालयले गर्ने काम सरकारले गर्ने कामको बारेमा सरकारले समितिको तटस्थतालाई सर्वोपरि राख्दै हामीले गर्ने कामका बारेमा हामी प्रतिवद्धताका साथ लाग्नेछौं ।’’ 

उहाँले शव परिवारले बुझेको बारे जानकारी दिँदै भन्नुभयो, ‘‘दुर्घटनामा परी १८ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । उक्त उडानका क्याप्टेन गम्भीर घाइते भएर काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । हाल उहाँको अवस्था खतरामुक्त रहेको जानकारी उपचारमा संलग्न चिकित्सकबाट प्राप्त भएको छ । हालसम्म विदेशी यमनी नागरिक बाहेक मृतकका सबै परिवारले शव बुझेको अवस्था छ । यमनी नागरिकको हकमा शव व्यवस्थापनका लागि नेपालमा यमनको दूतावास नभएकाले यमनको दूतावास रहेको नजिकको मुलुकसँग सम्पर्क र समन्वय भइरहेको । शव व्यवस्थापनको खर्च सौर्य एयरलाइन्सबाट भएको जानकारी गराउन चाहन्छु ।’’

गत साउन नौ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भरेलगत्तै सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन शाक्यको गम्भीर अवस्थामा उद्धार गरिएको थियो।