• १३ साउन २०८१, आइतबार

निजीभन्दा अब्बल बन्दै सरकारी विद्यालय

blog

गलकोट (बागलुङ), साउन १३ गते । कुनै समय ओझेलमा परेको बागलुङ नगरपालिका-८ सिगानाको सिगाना माध्यमिक विद्यालय लामिचौर तीन वर्ष यता चर्चामा छ । झट्ट हेर्दा जिल्ला सदरमुकामको निजी विद्यालयभन्दा राम्रो देखिने त्यही विद्यालयमा तीन वर्ष अघि शौचालय र खानेपानीको समेत अभाव थियो । 

तर पछिल्लो समय सुविधा सम्पन्न भवन, कक्षाकोठा, बाल उद्यान, बालमैत्री शौचालय, बगैँचाले सिँगारिएको प्राङ्गणले विद्यालयको वातावरण मनमोहक बनेको छ । विद्यालयको शैक्षिक गुणस्तरका लागि सुविधासम्पन्न भौतिक पूर्वाधार पहिलो प्राथमिकता भएकाले विद्यालयले तीन वर्षयता पूर्वाधार निर्माणमा जोड दिएको छ । विद्यालयको पूर्वाधारसँगै प्रविधिमैत्री शिक्षण सिकाइ, अतिरिक्त कक्षा, बाल उद्यान, प्रयोगशाला, कम्प्युटर ल्याबलगायत सुविधाका कारण विद्यार्थीको शैक्षिक गुणस्तरमासमेत वृद्धि भएको छ । 

शैक्षिक गुणस्तर बढाउन अतिरिक्त कक्षा र प्रविधिमैत्री शिक्षामा जोड दिइएको छ । जस्तापाताले छाएर छाप्रामा अध्ययन-अध्यापन गर्ने समयमा उक्त विद्यालयमा शौचालय अभाव थियो । विद्यालयले तीन वर्षमै पूर्वाधारमा मात्र होइन बागलुङ नगरकै पहिलो बालमैत्री विद्यालयको परिचय बनाएको छ । वि.सं.२०१० सालमा चन्द्रबहादुर थापाले स्थापना गर्नुभएको उक्त विद्यालयलाई अहिले उहाँकै छोरा टीकाराम थापाले हाँकी रहनुभएको छ । 

बुबाले स्थापना गरेको विद्यालयलाई नमुना बनाउन सहरबाट गाउँ फर्केर विद्यालय व्यवस्थापन समितिको अध्यक्षकाे जिम्मेवारी बहन गरेको उहाँको भनाइ छ । थापाले आफ्नो तीन वर्षे कार्यकालमा एक करोड ३२ लाख खर्चेर विद्यालयलाई भौतिक पूर्वाधारमा नमुना बनाउँदै प्रविधिमैत्री शिक्षालाई जोड दिएको बताउनुभयो । भौतिक पूर्वाधार थपिएपछि विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ । 

तीन वर्षमा राष्ट्रपति शैक्षिक सुधारअन्तर्गत ५० लाख लागतमा चारकोठे भवन निर्माण, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १८ लाखमा दुईकोठे भवन निर्माण, पुनः निर्माण प्राधिकरणबाट प्राप्त १५ लाखको लागतमा अपाङ्ग र बालमैत्री शौचालय निर्माण, पुनः निर्माण प्राधिकरणकै सात लाखमा शुद्ध खानेपानीको व्यवस्था गर्न सफल भएको थापाको भनाइ छ । 

यस्तै, गण्डकी प्रदेश सरकारको सहयोगमा सात लाखमा कक्षा कोठामा स्मार्ट टिभीसहितको अध्यापनको व्यवस्था, बागलुङ नगरपालिकाको आठ लाख लागतमा एक शिक्षक एक ल्यापटप, कम्प्युटर र विज्ञान प्रयोगशाला र देउसीभैलोबाट सङ्कलन भएर बचत भएको २७ लाखबाट बाल उद्यान, प्रवेशद्वार, तारबार, खानेपानीलगायतको व्यवस्था गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

“विद्यालय ऋणमा डुबेको थियो, भौतिक पूर्वाधारको अभाव थियो, खानेपानी र शौचालयको राम्रो व्यवस्था थिएन, बसाइसराइको प्रभावले विद्यार्थी घट्दै थिए, दलित समुदायका विद्यार्थी पोसाकबिना आउने गर्दथे,” उहाँले भन्नुभयो, “एक पटक गाउँ फर्केर विद्यालयमा सुधार गर्नुपर्‍यो भन्ने सोच आयो, सबैले साथ दिए, देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले विद्यालयको भौतिक र शैक्षिक सुधारमा खर्च गरियो ।”

अधिकांश दलित समुदायका विद्यार्थीले अध्ययन गर्ने विद्यालयलाई नमुना बनाउन थापाको अभियानलाई शिक्षक अभिभावक सङ्घका अध्यक्ष गोविन्दप्रसाद गौतम, स्थानीय जनप्रतिनिधि, बागलुङ नगरपालिका र अभिभावकको आर्थिक, भौतिक र नैतिक सहयोग रहेकाले विद्यालयले मुहार फेर्न सफल भएको वडा सदस्य मनबहादुर नेपालीले बताउनुभयो । रासस