• १३ साउन २०८१, आइतबार

देशलाई अघि बढाउन नीतिगत नेतृत्व आवश्यक छ : महासचिव पोखरेल

blog

प्रशिक्षक प्रशिक्षण कार्यक्रममा महासचिव शंकर पोखरेल ।

गोरखापत्र अनलाइन 

काठमाडौं, साउन १३ गते ।  नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले समाजलाई अगाडि बढाउन नीतिगत नेतृत्व आवश्यक हुने बताउनुभएको छ । संसद्का दुई ठुला पार्टी नेपाली कांग्रेस र नेकपा (एमाले)  एकथान सरकार बनाउने उद्देश्यले मात्र समझदारीमा पुगेको नभई देशलाई अगाडि बढाउन नीतिगत नेतृत्व हुनुपर्छ भन्ने मान्यतासाथ अघि बढेको स्पष्ट पार्नुभयो । 

एमाले ललितपुर जिल्ला कमिटीद्वारा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले आज नीतिगत नेतृत्व गर्ने कुरामा साना दलले बाधा गरिरहेको टिप्पणी गर्नुभयो ।  उहाँले समाज अगाडि बढाउने सन्दर्भमा देखिएका र अनुभव गरिएका संवैधानिक तथा कानुनी अप्ठ्यारा हटाउन संविधान र कानुन संशोधन समेत गर्ने सहमति गरिएको स्पष्ट गर्नुभयो ।  

महासचिव पोखरेलले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको राजनीतिक कार्यदिशा र जनताको बहुदलीय जनवाद (जबज) विषयमा प्रशिक्षण दिनुहुँदै जनताको बहुदलीय जनवाद (जबज) को औचित्य समाप्त भयो भन्नु गलत भएको बताउनुभयो । 

महासचिव पोखरेलले मार्गदर्शक सिद्धान्तका रूपमा रहेको जबजले राजनीतिक क्रान्तिपछिको बाटो पनि स्पष्ट रूपमा देखाइदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा एमालेको नेतृत्व गरेका कतिपय कम्युनिष्ट नेताहरू पनि बेला बेलामा जबजको औचित्य सकिएको कुरा गर्छन् । तर जबजका विशेषताको बुँदा नं ९ मा हामी हिँड्ने बाटो स्पष्टरूपमा लेखिएको छ ।” 

महासचिव पोखरेलले २०६२/६३ को राजनीतिक सफलतापछिको भविष्यको बाटो पनि जबजले देखाएको चर्चा गर्नुभयो । जबजको औचित्य बारेमा अलमलमा नपर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘राजनीतिक क्रान्तिपछि समाजवादमा पुग्न तीनवटा विशेष अवधि पार गर्नुपर्ने हुन्छ भन्ने जबजले भनेको छ’ चर्चा गर्दै महासचिव पोखरेलले उत्पादक शक्ति जति शक्तिशाली बनाउन सकियो त्यति छिटो समाजवाद आउने स्पष्ट गर्नुभयो । 

समाजवादमा पुग्नुअघि पुरानो समाज व्यवस्था–उत्पादन सम्बन्धका अवशेष पूर्णरूपमा अन्त्य र बदलिएको उत्पादन सम्बन्धलाई बलियो बनाउँदै योजनाबद्ध ढङ्गले समाजवादका आधार तयार गर्नुपर्ने कुरालाई जबजले प्राथमिकता तोकेरै भनेको महासचिव पोखरेलले बताउनुभयो । 

जनताको बहुदलीय जनवाद अहिले पनि अत्यन्त सान्दर्भिक रहेको उहाँले बताउनुभयो । नेपालको राजनीतिक परिवर्तन अन्य मुलुकजस्तो नभई नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरू मिलेर गरिएको परिवर्तन भएकाले मार्क्सवादको प्रयोग पनि देशको विशेषताका आधारमा लागू हुन्छ भन्ने मान्यतामा जबजको विकास गरिएको महासचिव पोखरेलले स्पष्ट गर्नुभयो । 

२०६२–६३ जनआन्दोलनको सफलतालाई राजनीतिक क्रान्ति भन्न सकिएला, समग्र क्रान्ति होइन भन्दै महासचिव पोखरेलले समाज बदल्ने काम बाँकी रहेकाले हामी पार्टीका नेता कार्यकर्ता समाज बदल्ने कुराबाट विमुख हुन्छौँ भने क्रान्तिकारी हुन सक्दैनौँ, भन्नुभयो । 

उहाँले समाज बदल्ने कुरा राजनीतिक अभीष्ट हो भन्ने कुरा पार्टीका सबै नेता कार्यकर्ताको मनमा लाग्नुपर्ने र आत्मविश्वासका साथ आफ्नो क्षमता पूर्णरूपमा प्रयोग गर्नुपर्ने बताउनुभयो । परिवर्तनको विचार सम्प्रेषण नगरी समाज परिवर्तन नहुने हुँदा नेता कार्यकर्तामा विचारका प्रश्नमा प्रष्टता आवश्यक रहेको कुरामा महासचिव पोखरेले जोड दिनुभयो । 

महासचिव पोखरेलले दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकता कसरी सिर्जना हुन्छ भन्ने सविस्तार चर्चा गर्दै समाजमा त्यसको प्रभाव सामाजिक अराजकताका रूपमा देखापर्ने बताउनुभयो । एमाले ललितपुर जिल्ला कमिटीले साउन १० देखि १५ गते सम्म पार्टी स्कुल विभागको व्यवस्थापनमा दुई समूहमा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू र पालिका कमिटीका पदाधिकारीलाई प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । 

प्रशिक्षणमा उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारी, पोलिटब्युरो सदस्यहरू आनन्द पोखरेल, ईश्वरी रिजाल, केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोइराला, सदस्यहरू वाईपी आचार्य, प्रा.डा. तत्वप्रसाद तिमिल्सिना, रामशरण प्याकुरेल लगायत विषयविज्ञहरूले प्रशिक्षण दिनुभएको छ ।