• १३ साउन २०८१, आइतबार

सडक दुर्घटनामा मृत्यु हुनेको अनुपात बढ्दो

blog

मीना कंडेल

कावासोती, साउन १३ गते । नवलपुरमा सडक दुर्घटनाबाट मृत्यु हुनेको अनुपात वार्षिकरूपमा बढ्दो देखिएको छ । दुर्घटनामा कमी ल्याउन साथै मृत्युदरमा कम गराउन जनचेतना कार्यक्रम दिनहुँ हुनेगरेको भए पनि मृत्यु हुनेको दरमा भने वृद्धि भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक अच्युतराज आचार्यले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा, सवारीलाई उछिन्न खोज्ने, यान्त्रिक गडबडी, तीव्रगतिमा सवारी चलाउँदा, सडक चौपाया, क्षमताभन्दा बढी यात्रु बोकेर सवारी चलाउँदा, ट्राफिक नियम उल्लङ्घन, बढ्दो सवारी चापका कारण दुर्घटना हुने र दुर्घटनाबाट मानिसको मृत्यु हुनेगरेको बताउनुभयो । 

दुर्घटनाको अनुसन्धान गर्दा जिल्लामा भएका अधिकांश सवारी दुर्घटनामा चालककै बढी गल्तीका कारण हुनेगरेको प्रहरीले जनाएको छ । यसका कारण वार्षिक धेरै मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ । 

जिल्लामा सबैभन्दा बढी दुर्घटना मोटरसाइकल, साना चारपाङ्ग्रे सवारीसाधन, यात्रुवाहक बस र टिपर रहेका छन् । यसबाहेक अटो, रिक्सा, साइकलयात्री पनि दुर्घटनामा परेर ज्यान गुमाउने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

जिल्लामा सवारी दुर्घटनाबाट पछिल्लो तीन वर्षमा एकसय १५ जनाको मृत्यु भएको छ । पछिल्लो तीन वर्षमा तीनसय ६ वटा सडक दुर्घटना भएको छ । जसमा एकसय १५ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको नवलपुर प्रहरीले जनाएको छ । 

आर्थिक वर्ष २०७८–७९ मा ९५ वटा दुर्घटना भएको छ । यसमा ४० जनाको दुर्घटनामा मृत्यु भएको छ । आर्थिक वर्ष २०७९–८० मा ७६ वटा दुर्घटनामा २९ जनाको  मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । यस्तै, चालु आर्थिक वर्ष २०८०–८१ मा एकसय ३५ सवारी दुर्घटना भएको छ । 

४६ जनाको मृत्यु भएको तथ्याङ्क जिल्ला प्रहरी कार्यालयमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी वेदबहादुर पौडेलले बताउनुभयो । नवलपुरमा मुख्य सडकभन्दा पनि भित्री सडकमा दुर्घटना धेरै हुनेगरेको देखिन्छ ।