• १३ साउन २०८१, आइतबार

सन्दीप र दीपेन्द्र आबद्ध भेनकुवरको दोस्रो हार

blog

काठमाडौँ, साउन १३ गते ।  ग्लोबल टी–२० क्रिकेट लिग अन्तर्गत नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध भेनकुवर नाईट्सले लगातार दोस्रो हार खेपेको छ । 

क्यानडाको सीएए सेन्टर, ब्राम्पटनमा शनिबार राति भएको खेलमा भेनकुवर बङ्गाल टाईगर्ससँग २२ रनले पराजित भयो । जितका लागि बंगालले दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको भेनकुवर निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३० रनमा समेटिएको थियो । 

भेनकुवरका लागि हर्ष ठाकरले सर्वाधिक ७९ रन बनाउनुभयो । डिवान प्रिटोरियसले २९ र रिजा हेनरिक्सले १० रन बनाउनुभयो । नेपालका अलराउन्डर दीपेन्द्रले दुई बलमा एक बनाउनुभयो । सन्दीप दुई रनमा अविजित रहनुभयो । 

बलिङमा बङ्गालका कप्तान साकिब अल हसनले तीन विकेट लिनुभयो । गुरपाल सिन्धु, डेबिड विजे र सरिफुल इस्लामले एक एक विकेट झार्नुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५२ रन बनाएको थियो ।

बङ्गालका लागि इफ्तिखार अहमदले ५० रन बनाउनुभयो । हरजततुल्लाह जाजईले ३३, डिलान हेलिङ्गरले २७ र प्रगत सिंहले २० रन जोड्नुभयो । बलिङमा भेनकुवरका लागि सन्दीपले दुई विकेट लिनुभएको थियो ।