• १३ साउन २०८१, आइतबार

यातायात व्यवसायीको आन्दोलनमा पत्रकारमाथि हातपात, चार पक्राउ

blog

सार्वजनिक सवारी नचलेपछि खुला देखिएको पोखराको पृथ्वीचोक। तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, १३ साउन। यातायात व्यवसायीले सात बुँदे माग राख्दै पोखरामा गरेको आन्दोलनमा दुई पत्रकारमाथि हातपात भएको छ। पत्रकार भएको परिचय दिँदै दिँदै उनीहरूले पृथ्वीचोकमा पत्रकार सुरज थापा र बिनु थापामाथि कुटपिट गरेका हुन्।

कास्की प्रहरीले कुटपिटमा संलग्न भएको अभियोगमा चार जनालाई पक्राउ गरेको छ। सूर्यबहादुर नेपाली, बुद्धिबहादुर बयलकोटी, प्रशन गुरुङ र सन्तोष बस्नेत पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले पत्रकारमाथि हातपात गरेको अभियोगमा चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

“हामीले चार जनालाई पक्राउ गरेका छौँ। केही गाडीमा तोडफोड भएको छ। क्षतिको तथ्याङ्क सङ्कलनसमेत गर्दै छौँ,” उहाँले भन्नुभयो। यातायात व्यवसायीले पत्रकार सुरजको ग २० प ३९७५ नम्बरको स्कुटरसमेत तोडफोड गरेका छन्।

पत्रकारमाथि कुटपिट भएपछि नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति महासचिव रोशन पुरीसहित पत्रकारका सङ्घ, संस्थाले विज्ञप्ति निकालेर घटनाको निन्दा गरेका छन्। दोषीमाथि कारबाहीको माग गर्दै यस्ता घटना नदोहोर्‍याउन उनीहरूले चेतावनी दिएका छन्।

यातायात व्यवसायीले आइतबारदेखि भाडाका सवारी साधन सञ्चालनमा रोक लगाएका छन्। पार्किङ गर्न लगिएका र खाली सार्वजनिक सवारीका समेत व्यवसायीले चाबी खोसेका छन्। 

पोखरामा आइतबार बिहानैबाट सार्वजनिक यातायात र भाडाका सवारी चलेका छैनन्। यसअघि यातायात व्यवसायीले दिएको ४८ घन्टे अल्टिमेटम सकिएपछि यातायात व्यवसायीले पृथ्वीचोकमा बसेर भाडाका र सार्वजनिक सवारीलाई रोकेका हुन्। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका गण्डकीका संयोजक केदार पौडेलले आइतबार र सोमबार पहिलो चरणमा आन्दोलन गरिएको बताए। “आइतबारबाट दुई दिन घरमा ग्यारेज आफ्नो सवारी धन्काउँछौ। त्यसपछि पनि माग सम्बोधन नभए सडकमा उत्रन्र्छौं,” उहाँले भन्नुभयो।

सञ्चारकर्मीमाथि हातपात भएको घटनामा दुःख व्यक्त गर्दै उहाँले आन्दोलनमा घुसपेठ भएको दाबी गर्नुभयो। रातो नम्बर प्लेटलाई यात्रु बोक्न दिने कार्यविधि खारेज गर्नुपर्ने माग राख्दै यातायात व्यवसायीले साउन १० गते अल्टिमेटम दिएका थिए। 

उनीहरुल राइड सेयरिङलाई यात्रु ओसारपसार गर्न दिने कार्ययोजना तत्काल खारेज गर्नुपर्ने, श्रम आयोग तत्काल गठन गर्नुपर्ने, सडक सुरक्षा योजना तत्काल लागू गर्नुपर्ने मागसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र जिल्ला प्रशासन कार्यालय कास्कीमा माग राखेका थिए। 

यातायात प्राधिकरण गठन गरी सञ्चालनको कार्यविधि बनाउनुपर्ने, वैज्ञानिक भाडादर लागू गर्नुपर्ने र यातायात मजदुरको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ। 

अहिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे स्वास्थ्य उपचारका लागि भारतमा हुनुहुन्छ। आन्दोलनरत यातायात व्यवसायीसँग सहमतिको प्रयास कार्यवाहक मुख्यमन्त्री बिन्दुकुमार थापाले गरिरहनुभएको छ। आइतबार दिउँसो पनि उहाँको यातायात व्यवसायीसँग छलफल भएको छ। 

गण्डकी प्रदेश सरकारले यसअघि प्रदेश सवारी यातायात व्यवस्था ऐन २०७६ र गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली २०८० बनाइसकेको छ। सोही नियमावली अन्तर्गत रहेर गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका सवारीलाई यात्रु ओसापोसार गर्न दिने गरी कार्यविधि ल्याउन तयारी छ।