• १३ साउन २०८१, आइतबार

बालसुधार गृहको अवस्था सुधार गर्नुपर्छ : गृहमन्त्री लेखक

blog

गृहमन्त्री रमेश लेखक । फाइल तस्बिर ।

गोरखापत्र अनलाइन

काठमाडौँ, साउन १३ गते । गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । आइतबार बिहान सङ्घीय संसद्को कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।

“अत्यधिक सङ्ख्यामा कैदीबन्दी रहेको समस्या देशभरि छ । भौतिक संरचनाको राम्रो विषय उठाउनु भएको छ” मन्त्री लेखकले भन्नुभयो– “भौतिक संरचनामा सुधार गर्न आवश्यक छ ।” उहाँले यस्तै बाल सुधार गृहमा पनि ठाउँको अभाव रहेको बताउनुभयो । भौतिक संरचना अभाव देखिएको उहाँको भनाइ छ ।

“हामीसित ८ वटा जिल्लामा ९ वटा बालसुधार गृह छन्” उहाँले भन्नुभयो, “यसको सुधार गर्न सबैलाई सरकारले राम्रोसँग सञ्चालन गर्नुपर्ने देखिएको छ ।”

कैदीबन्दीको सिधा र दैनिक खर्च कम भएको विषयमा सरकारको ध्यान गम्भीरतापूर्वक जाने गृहमन्त्री लेखकले बताउनुभयो । कैदी बन्दीले भोग्नुपरेको स्वास्थ्य र सरसफाइका समस्या सम्बोधन गर्ने सरकारले ध्यान दिने बताउनुभयो ।

“कैदीबन्दीको सीप विकास र आयआर्जनको कुरामा पनि सरकार गम्भीर छ” गृहमन्त्री लेखक भन्नुभयो, “कारागारलाई सीप विकास केन्द्रका रूपमा विकास जरुरी छ ।” केही न केही उद्यम गरेर आयआर्जन पनि हुने र मानिस व्यस्त हुने अवस्था रहेको उहाँको भनाइ छ ।

कैदीबन्दीको स्वास्थ्य बिमा र सीपको व्यवस्थाका साथै मनोपरामशर्म कार्यक्रम आवश्यक भएको गृहमन्त्री लेखकले बताउनुभयो । कैद कट्टामा सर्वोच्च अदालतले दिएको पछिल्लो निर्देशनअनुसार अगाडि बढ्ने उहाँले बताउनुभयो ।