• १३ साउन २०८१, आइतबार

खोटाङमा थपिए दुई प्रहरी चौकी

blog

नयाँ स्थापना भएको अस्थायी प्रहरी चौकी खार्मी ।

राजकुमार भट्टराई

खोटाङ, साउन १३ गते । खोटाङमा दुई ठाउँमा नयाँ प्रहरी चौकी थप गरिएको छ । नागरिकको शान्तिसुरक्षा कायम गर्न एवं आपराधिक क्रियाकलाप रोक्न जिल्लामा दुई ठाउँमा प्रहरी चौकी थप गरिएको हो ।  

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –९ निर्मलीडाँडाको पेलुङ बजारमा र सोही नगरपालिकाको वडा नम्बर ११ खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । निर्मलीडाँडासँगै साकेला गाउँपालिका –१ बाँझेच्यानडाँडाका नागरिकलाई शान्ति सुरक्षा कायम गर्न पेलुङ बजारमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) पुरुषोत्तम खड्काले बताउनुभयो । 

मध्य पहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–भोजपुर सडकलाई मध्यनजर गरेर सडक छेउ अर्थात पेलुङ बजारमा प्रहरी चौकी राखिएको डिएसपी खड्काको भनाइ छ । हाल वडा कार्यालयले वार्षिक ४० हजार भाडा तिरेर व्यवस्थापन गरेको स्थानीयको घरमा अस्थायी प्रहरी चौकी राखिएको छ । 

स्थायी प्रहरी चौकी निर्माणका लागि स्थानीयले निःशुल्क जग्गासमेत उपलब्ध गराएका छन् । उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा ६ जनाको प्रहरी टोली खटाइएको छ । 

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –११ खार्मी र १० पाथेकाका नागरिकलाई शान्ति सुरक्षा कायम गर्न खार्मीको खानीडाँडामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । 

अस्थायी प्रहरी चौकी खार्मीमा तत्कालका लागि बरिष्ठ हवल्दारको नेतृत्वमा ६ जनाको टोली खटाइएको डिएसपी खड्काले बताउनुभयो । तत्कालका लागि स्थानीय नागरिकको घर भाडामा लिएर अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । स्थायी चौकीको भवन निर्माणका लागि वडाध्यक्ष इखबहादुर राई लगायतले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । 

१० स्थानीय तहको ७९ वटा वडा रहेको जिल्लामा एउटा जिल्ला प्रहरी कार्यालय, ४ वटा ‘क’ वर्गको ईलाका प्रहरी कार्यालय, २ वटा ‘ख’ वर्गको इलाका प्रहरी कार्यालय, ३ वटा विमानस्थल सुरक्षा चौकी, ५ वटा अस्थायी प्रहरी चौकी, १९ वटा प्रहरी चौकी र एउटा  पर्यटक प्रहरी सहायता कक्ष सञ्चालनमा छन् ।