• १३ साउन २०८१, आइतबार

गुल्मीमा ८९ प्रतिशत धान रोपाइँ

blog

रमेश विश्वकर्मा

गुल्मी, साउन १३ गते । गुल्मीमा हालसम्म ८९ प्रतिशत धान रोपाइँ भएको छ । यस वर्ष सात हजार ९८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकोमा साउन दोस्रो साता पुग्दासम्म सात हजार १०९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको हो । 

यस जिल्लाका अधिकांश किसानहरुले खेतमा रोपेको मकै र चैते धान भित्र्याएपछि धान रोप्ने गर्दछन् । साउन महिनाको सुरुवातसँगै पानीका मुहानहरु फुटेपछि यहाँका किसानहरु धान रोप्न निकै व्यस्त देखिएका छन् । गत वर्षको तुलनामा अहिले रोपाइँको प्रतिशत बढे पनि धान उत्पादन हुने क्षेत्रफल घट्ने कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख भण्डारीका अनुसार जनशक्तिको अभाव, बढ्दो बसाइँसराइँ, गोरुको अभाव, समयमा जोत्नका लागि ट्याक्टर नपाउने, खोलाको कटान, महँगाे ज्याला, भनेको समयमा कामदार नपाउनुलगायतका कारण धान रोपाइँको क्षेत्रफल घट्नेछ । गत वर्ष ३५० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकोमा अहिले घटाएर ३११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको उहाँले बताउनुभयो । 

गत वर्ष चैते र वर्षे गरी कुल २७ हजार ८०७ मेट्रिकटन धान उत्पादन भएको थियो । चैते धानका रुपमा स्थानीय मार्सी, सिएच–४५, चैते ५ र हर्दिनाथ १ रोपिन्छ । चैते धान ३५० हेक्टरमा र वर्षे धान ८ हजार ८०३ हेक्टरमा गरी जम्मा ९ हजार १५३ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । स्थानीय हंसराज, आपझोते, झाप्री, काठे, झिनुवा, सानो भट्टे, ठुलो भट्टे, कोदे, बडियारे, लहरेबडियारे, थापचिनी, गुडुरो, ढल्लोई, पाखे धान, रातो मार्सी धान, मार्सी जातका धान रोप्ने गरिन्छ । उन्नत जातका सावाँ मन्सुली,  मकवानपुर १, खुमल ४, रामधान,  हिमाली जातका धान रोपाइँ हुने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । 

जिल्लाको कालीगण्डकी गाउँपालिकाको अर्वेनी, कनौटा, छापचौर, सत्यवती गाउँपालिकाको लिम्घा, अस्लेवा, जोहाङ्गखैरेनी, साहाघाट, च्यामीफाँट, चन्द्रकोट गाउँपालिकाको मजुवा, रुपाकोट, शान्तिपुर, मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौंडा, भुवाचिदि, वामीटक्सार, पौदी अरेवा, भर्माचौर लगायत बडिघाट खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, शिलादी, अर्जेबेंसीमा रोपाइँ गरिन्छ ।

त्यस्तै, मदाने गाउँपालिकाको सिर्सेनीको सिम, अग्लुङ्ग फेदी, भनभनेको तल्लो क्षेत्र, धुर्कोट गाउँपालिकाको पनाहा खोला र छल्दीको आसपासका क्षेत्र, इश्मा गाउँपालिकाको चौरासीफाँट, हुलाके, हस्तिचौर लगायत छल्दी र निस्ती, गुल्मीदरबार गाउँपालिकाको गरमटारी, खर्जेङ, घोडाहाफाँट, टारी फाँट, छत्रकोट गाउँपालिकाको खर्जेङ, मनबाग, अँगा, उल्लिखोला, बोआ फाँट र रुरु क्षेत्र गाउँपालिकाको टाहाटिम, घिउबेंसी, छम्दीमा धान रोपाइँ गरिने उहाँले बताउनुभयो ।